Dhulikhel Eco Banner new

समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

4.89K
shares

काठमाण्डौ, ६ वैशाख ।सामुद्रिक खाना शङ्खजन्य जीव सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना सि फुड खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिएका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १ महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल गएका थिए ।
नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकैपर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतालमा राखिएको छ ।