युवायुवतीलाई वारिष्टा तालिम
वि.सं.२०८१ वैशाख १० सोमवार १५:२९
shares

तनहुँ, ९ वैशाख । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन व्यासका तीस जना युवायुवतीलाई वारिष्टा कफी बनाउने तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको हो ।
बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडासदस्य दधिराज घिमिरेले जानकारी दिएका छन् । “व्यक्तिगतरुपमा तालिम लिँदा प्रतिव्यक्ति रु १७ हजारसम्म लाग्ने रहेछ”, वडासदस्य घिमिरेले भने, “वडाको बजेटले मात्रै धान्न नसक्ने भएपछि लागत सहभागिता समावेश गरिएको छ ।”
उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति रु तीन हजारका दरले शुल्क निर्धारण गरिएको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा आत्मनिर्भर बन्न कसैको मुख ताक्नु पर्दैन । तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने विश्वास गरिएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले बताए ।
वडाबाट सीपमूलक तालिमका लागि रु दुई लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिए । आइतबारदेखि सुरु भएको उक्त तालिमको मुख्य प्रशिक्षकमा अञ्जिल मियाँ रहेको छ । तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ ।
बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
“सीप सिकेर विदेशमा होइन स्वदेशमै स्वरोजगार बनाउन पहल गरिनुपर्छ”, उनले भने, “व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा सीपमूलक र आयमूलक तालिमलाई जोड दिइएको छ ।”


















