Dhulikhel Eco Banner new

डेढ करोड सहयोग विद्यालयको पूर्वाधार निर्माण

3.93K
shares

काठमाण्डौं ,१० वैशाखः एक जना विदेशी नागरिकको डेढ करोड सहयोगमा अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाँडा आधारभूत विद्यालयको पूर्वाधार निर्माण गरिएको छ ।

साविक राम्चे गाविस–८ धारापानीमा जन्मी हाल बेलायत निवासी गिरबहादुर गर्बुजाको समन्वयमा पोल्याडका नागरिक जोन ओलस्कीले सो विद्यालयको कक्षाकोठा भवनलगायतका पूर्वाधार निर्माणमा सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बुद्धि पुर्जाले गर्बुजाको पहलमा ओलस्कीको १ करोड ४५ लाख सहयोग गरेको बताए। उक्त रकमबाट ११ कोठे दुईवटा भवन निर्माण गरिएको छ ।

समन्वयकर्ता गर्बुजा गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि बेलायतको निजी कम्पनीमा काम गर्दै आउनुभएको छ । उनि परिवारसहित बेलायतमा बसोबास गर्छन् ।

“पोल्याण्डका नागरिक जोन ओलस्कीको सहयोगमा ५ र छकोठे दुईवटा भवन निर्माण भएको हो”, उनले भने, “सहयोगदाता ओलस्की र समन्वयकर्ता गर्बुजालाई विद्यालयले सम्मान गरेको छ ।”

सहयोगदाता ओलस्किले आफूले गरेको सहयोगले दुर्गम गाउँका विद्यालयका बालबालिकालाई सहज भएकामा खुसी व्यक्त गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनिहरुले इन्टरनेटमार्फत गरिने टेलिटिचिङको सामग्री पनि सहयोग गरेका थिए ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ४३ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन रहेको ठाउँमा पहिरोको जोखिम भएपछि करबाकेली थानमुनि विद्यालय स्थानान्तरण गरिएपछि भवनलगायतका पूर्वाधार अभावमा पठनपाठन प्रभावित भएको थियो ।