Dhulikhel Eco Banner new

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

4.29K
shares

काठमाडौं, २६ वैशाख । कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो ।

निसीखोला–१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन् । आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन् । गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक रुपमा मौरीपालन गर्न थालेका हुन् । अहिले गाउँमा १८ किसानले समूह नै बनाएर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । बजारीकरण र उत्पादन बढाउनका लागि किसान सङ्गठित भएको मौरीपालन कृषि समूहका नबहादुर कुँवरले बताए । समूहमा आबद्ध किसानमध्ये पहिलो चरणमा नौजनालाई अनुदानमा मौरीका घार र मौरी उपलब्ध गराइएको उनको भनाइ छ ।

गाउँलाई मौरीपालनबाट आत्मनिर्भर बनाउने गरी समूहमा धेरै किसानलाई समावेश गर्दै जाने अध्यक्ष कुँवरले बताए । गाउँमै बसेर उद्यमी बन्ने र बजार मागलाई पूर्ति गर्नेगरी अहिले आफूले एक सय ४० घार मौरी पाल्दै आएको जनाउँदै अब यसलाई बढाउँदै जाने उनको भनाइ छ । कुँवरले भने, “गाउँमा व्यवसाय गर्ने हो भने धेरै माध्यम छन्, त्यसमध्ये मौरीपालन निकै उपयोगी हुँदा युवा मिलेर मौरीपालनमा लागेका छौँ, गाउँका धेरै कृषक यो पेसामा आबद्ध हुनुहुन्छ, आबद्ध नभएका पनि बिस्तारै आधुनिक घार लिएर सुरुआत गर्न थालेका छन्, गाई, भैँसी, बाख्राको तुलनामा मौरीपालन सजिलो र आम्दानीको राम्रो स्रोत हुने देखिएपछि अहिले धेरै स्थानीयले मौरी पाल्न थालेका छन् ।”

हुल्दी गाउँमा मकै, कोदो फल्ने बारीभरि यतिबेला मौरीका घार राखेको देखिन्छ । स्थानीय पवन सिञ्जालीले लामो समयदेखि कृषि गर्दै आएको र अहिले नयाँ कामको सुरुआत गरेको बताए। पछिल्लो समय अन्य गाउँबाट मौरी व्यवसाय हेर्न, ज्ञान लिन र घार किन्न आउने उनको भनाइ छ । मौरीपालनका लागि तालिम लिएर सीप हासिल गरेपछि व्यावसायिक रुपमा काम गर्न थालेको सिञ्जालीले बताए । आफूले दुई घारबाट सुरुआत गरिएको भन्दै अहिले विस्तार भएर धेरै भएको उनको भनाइ छ ।

सोही गाउँका राजुलाल रोकाले पनि कृषक समूह गठन गरेर मौरीपालन गर्दै आएका छन् । पुरानो पुख्र्यौली घार र आधुनिक गरी एक वर्षभित्रै नौ घार माहुरी उत्पादन गर्दै आएको उनले बताए । यसलाई वृद्धि गर्दै जाने र आर्थिक उपार्जनको माध्यम बनाउने रोका बताउछन् । पुख्र्यौलीभन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको उनको भनाइ छ । मौरीपालनलाई व्यवस्थित गर्न सके गतिलो आम्दानीको स्रोत बन्ने रोकाले बताए ।