Dhulikhel Eco Banner new

धनुषा – सिरहा जोड्ने कमला नदी पार गर्न डुंगामा जोखिमपूर्ण यात्रा

2.57K
shares

काठमाडौं, १९ भदौ । हुलाकी राजमार्ग अन्तर्गत धनुषा -सिरहा जोड्ने कमला नदीमा सर्वसाधारणहरु फेरी डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

नदीमा बाढी घटेपछि स्थानीयले डुंगा चलाउन थालेका हुन्। उनीहरू डुंगामा मोटरसाइकल, साइकल र पैदल यात्रीलाई आरपार गर्छन्। साइकल र मोटरसाइकल आरपार गर्दा डुंगा चलाउनेले एक सय रुपैयाँ लिँदै आएका छन्।

भासिएको कमला पुल अलपत्र परेको छ। पुलको पूर्वतिर कटानगरी नदी बग्न थालेपछि यस वर्ष डुंगा चढ्नुपर्ने अवस्था आएको छ। हुलाकी सडक अति व्यस्त मानिन्छ। तर नदीमा पुल नहुँदा ठूलो सास्ती र जोखिम मोल्नुपरेको यात्रीहरू बताउँछन्।

डुंगामा ७ र ८ वटासम्म मोटरसाइकल र दर्जनौँ व्यक्ति चढाउने गरिएको छ। एक त डुंगा जीर्ण, त्यसमा पनि क्षमताभन्दा बढी गाडी र मानिस चढाउने गरेकाले यात्रा गर्दा डर लाग्ने गरेको एक यात्रुले सुनाए।

पुल नभएको अवस्थामा डुंगामा यात्रु ओसार्नु राम्रो कुरा हो, जनकपुरधामबाट सिरहातर्फ आएका जयनाथ यादव डुंगा चढेर नदी पार गर्दा भने, पैसा लागे पनि टेन्सन छैन। तर यात्रा सुरक्षित हुनुपर्छ।

उनले डुंगाको क्षमता हेरेर कति गाडी र कति मानिस चढाउन पाउने कुरा स्थानीय प्रशासनले तोकेर यात्रा सुरक्षित गर्नुपर्ने बताए। नदीमा यात्रुहरू कसरी यात्रा गर्छ भन्ने कुरामा प्रशासन र सरकारको ध्यान नपुग्नु दुःखद् रहेको उनको भनाई छ।

उनले भने, यात्रुको यति धेरै बढी चाप हुने हुलाकी सडकमा पर्ने नदीमा पुल नबन्नु विडम्बना हो, अस्ति ईन्जिनियरहरुले अनसन बस्दा मधेश सरकारले नयाँ पुल बनाउने सहमति भयो। यो सहमति अनुसार तत्कालै पुल निर्माण प्रक्रिया अगाडी बढाउनुपर्दछ।