Dhulikhel Eco Banner new

असोज १३ देखि २२ गतेसम्म सुकिलो नोट साट्न पाइने

3.42K
shares

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बडादशैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो।

विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो ।

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ,” राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ।”

आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिला वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ। सुकिला नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो।