चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना
वि.सं.२०८१ माघ १ मंगलवार १३:२३
shares

काठमाडौं, १ माघ । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार जरिवाना गरेको हो ।
अनुगमनका क्रममा म्याद नलेखिएको इम्लीको अचार भेटिएपछि समितिले उक्त अचारका प्याकेजमध्ये एउटा परीक्षणका लागि पठाएर बाँकी जफत गरेको छ। ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका प्रतिनिधि थिए ।
सो टोलीले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ ।
हरेक हप्ता फरक–फरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले यसअघि हात्तीवनस्थित अपार भेजिटेबल सस उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना गराएको थियो ।



















