९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने
वि.सं.२०८१ माघ १८ शुक्रवार १७:०७
shares

काठमाडौं, १८ माघ । कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त लगानी सम्बन्धी सम्झौता शुक्रवार सम्पन्न भएको हो ।
लगानी सम्झौता एम. ए. पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैक र कृषि बिकास बैकलगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो ।
कम्पनीका अनुसार स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक अगाडीे बढाएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन सुरु गर्नु पर्ने २०८६ साल बैशाख २२ रहेको बैंकले जनाएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिने बैंकले जनाएको छ ।


















