Dhulikhel Eco Banner new

धनुषाको विदेहनगरका मेयर दासको छोराले हाकिम कुटे, मेयरले पनि दिए गोली हान्ने धम्की

3.11K
shares

काठमाडौं, ३० माघ । धनुषाको विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले मेयर बेचन दास र उनका छोरा रामभजन दासविरुद्ध उजुरी दिएका छन् । साहले मेयर र उनका छोरामाथि आफूलाई कार्यकक्षमै कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार, शिक्षक सेवा आयोगबाट सिफारिस भएकी शिक्षिकालाई विद्यालयमा हाजिर गराएपछि रामभजन दासले साहलाई कार्यकक्षमै कुटपिट गरेको भनिएको छ । उजुरीमा साहले भनेका छन्, निमावि सामाजिक शिक्षक पवन कुमारीलाई हाजिर गराउँदा नगर प्रमुखका छोराले ममाथि कुटपिट गरे । त्यसपछि मेयर दास कार्यकक्षमा आएर मलाई गोली हानिदिने धम्की दिए ।

साहले प्रमुख जिल्ला अधिकारीलाई दोषीहरूविरुद्ध कारबाहीको माग गर्दै आफूले काम गर्ने सुरक्षित वातावरण उपलब्ध गराउन अनुरोध गरेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रबाट सरुवा भई दुई महिना अघि विदेह नगरपालिकामा आएका साहले २६ दिनअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए । नगरपालिकामा पदबहाली भएदेखि उनले अनियमितता र बेथितिविरुद्ध कडा कदम चालेको बताइन्छ ।

केही दिनअघि, साहले करिब १० लाख रुपैयाँ बराबरका कम्बल खरिद प्रक्रियामा अनियमितता भेटेपछि ती कम्बल फिर्ता गराएका थिए । यस्तै, अन्य बेथितिहरूमा साथ नदिएपछि मेयर दास र उनका छोरा साहसँग असन्तुष्ट भएको जनाइएको छ ।

यो घटनाले नगरपालिकाको प्रशासनिक वातावरणलाई थप तनावपूर्ण बनाएको छ ।