नेप्सेको सीईओको लागि दरखास्त आह्वान, १५ वर्षको कार्य अनुभव अनिवार्य
वि.सं.२०८१ फागुन १२ सोमवार ११:३२
shares

काठमाडौं, १२ फागुन। नेपाल स्टक एक्सचेंज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ। सोमवार एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरिएको हो।
उम्मेदवारको लागि योग्यताका मापदण्डमा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर, चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि अनिवार्य गरिएको छ। साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसँग सम्बन्धित कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कुल १५ वर्षको कार्य अनुभव हुनु पर्नेछ।
आवेदन दिन चाहने उम्मेदवारहरूले आवेदनका साथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ। आवेदन शुल्क ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ र यस रकम राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा बुझाउनु पर्नेछ। आवेदन दस्तुरको भौचर पनि आवेदनसाथ संलग्न गर्नुपर्नेछ।
प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक, भत्ता र अन्य सुविधाबारे नेपाल सरकारको स्वीकृतिमा नेप्सेले निर्धारण गर्ने छ।
नेपाल सरकारको अर्थ मन्त्रालयले सीईओको नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजक अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल रहेका छन् भने सदस्यमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल रहेका छन्।
















