Dhulikhel Eco Banner new

को बन्ला गभर्नर ? रेबतबहादुर भन्छन्– भट्ट र श्रेष्ठ मध्ये एक

3.32K
shares

काठमाडौं, २० चैत । अर्थविद् डा. रेबतबहादुर कार्कीले डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठ मध्येबाट एक जना व्यक्तिलाई गभर्नर बनाउन अनुरोध गरेका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका कार्कीले सामाजिक सञ्जालमा लेख्दै भट्ट र श्रेष्ठ मध्ये एक जनालाई गभर्नर बनाउन सुझाव दिएका हुन् ।

गभर्नर नियुक्त गर्न गठित सिफारिस समितिको नाम नै उल्लेख गर्दै उनले २ जनालाई सिफारिस गर्न भनेका छन् । भट्ट नेपाल राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक हुन् भने श्रेष्ठ पनि राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् भने राष्ट्रिय योजना आयोगका बहालवाला सदस्य हुन् ।

कार्यकारी निर्देशकमा बहाल रहेकै बेला राजनीतिक नियुक्ति लिएर सिंहदरबार पसेका श्रेष्ठले गभर्नर बन्ने दौडमा सहभागी हुनका लागि नै कार्यबाल बाँकी छदै केही दिन अघि राष्ट्र बैंकमा राजीनामा बुझाएका थिए ।

गभर्नर बन्ने दौडमा अहिले दर्जन बढी आकांक्षी छन् । यद्यपि समय कम हुँदै जादा आकांक्षीको संख्या पनि कम हुँदै गएको छ । अहिले प्रमुख दाबेदारका रुपमा बहालवाला डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बहादुर मिश्र छन् । प्रथम डेपुटी गभर्नर बनेर इतिहास रचेकी निलम गभर्नर नै बनेर अर्को इतिहास रच्ने दाउँमा छन् । बमबहादुर मिश्र पनि योङ्ग र इनर्जेटिक युवाबाट गभर्नर बनेर अर्को इतिहास रच्ने दाउमा छन् ।

उता राष्ट्र बैंकको जागिर छाडेर बैंकतिर लागेका ज्ञानेन्द्र ढुंगाना नविल बैंकको आकर्षक सीईओ पद नै माया मारेर लिगलिगे दौडमा सहभागी छन् । गभर्नर नियुक्ति सम्बन्धी मापदण्ड संशोधन भए पछि भने पूर्व सचिवहरुलाई ल्याएर गभर्नरको कुर्सीमा राख्ने तयारी हो भन्ने पनि देखिएको छ । यसैले अहिले नै केही भनिहाल्न सकिने अवस्था छैन ।