राष्ट्र बैंकले ९७ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
वि.सं.२०८१ चैत ३१ आइतवार १३:१८
shares

काठमाडौं, ३१ चैत । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने भएको छ। आइतवार सार्वजनिक गरिएको सूचनामा राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रियस्तरका बैंक तथा वित्तीय संस्थामा लगानी गरिने भएको हो ।
राष्ट्र बैंकका अनुसार ७७ करोड ६० लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरूमा, १४ करोड ५५ लाख रुपैयाँ ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा र ४ करोड ८५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गरिनेछ।
यो लगानी ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्मका लागि ३६६ दिनको अवधिको हुने जनाइएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी ३ वैशाख साँझ ७ बजेसम्म आवेदन दिनुपर्नेछ।
राष्ट्र बैंकले निक्षेपको लागि पात्रता निर्धारण गर्दै केही कडा मापदण्डहरू पनि लागू गरेको छ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुगेको हुनुपर्ने, नियामक पूँजीकोष (बफरसहित) कायम गरेको हुनुपर्ने, कुल कर्जामा निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा बढी नहुने, तथा केन्द्रीय बैंकले तोकेको तरल सम्पत्ति सीमा र कर्जारनिक्षेप अनुपात पनि तोकिएको दायराभित्र हुनुपर्नेछ।
त्यस्तै, यदि कुनै संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना बितेको हुनुपर्ने, समस्याग्रस्त घोषणा गरिएको भए फुकुवा भएको पनि ६ महिना पूरा भएको हुनुपर्ने, साथै सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने राष्ट्र बैंकको सर्तहरूमा उल्लेख गरिएको छ।

















