Dhulikhel Eco Banner new

हेटौंडा सिमेन्ट उद्योग पुन: सञ्चालन, दैनिक ६ सय क्विन्टल उत्पादन गर्ने लक्ष्य

4.29K
shares

काठमाडौं, ५ वैशाख । करिब छ महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। यन्त्रहरूको मर्मतसम्भार तथा कच्चा पदार्थको आपूर्ति भएपछि हाल उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक चुनढुङ्गा तयार पार्न थालेको छ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार आगामी एकदुई दिनभित्र सिमेन्ट उत्पादन सुरु हुनेछ। उद्योगले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ।

विसं २०३३ मा जडान गरिएका पुराना यन्त्रहरू अत्यधिक जीर्ण भइसकेकाले अब नयाँ उपकरण खरिद गर्नु अत्यावश्यक रहेको महाप्रबन्धक कर्णको भनाइ छ।

तर, नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिनाइ भोगिरहेको उद्योगका लागि नयाँ यन्त्र खरिद गर्न हाल सम्भव नभएको उनले बताए।

उनले उद्योगको दीर्घकालीन समस्या समाधानका लागि सरकारले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।