नेपालमा पनि भेटियो मंकिपक्स
वि.सं.२०७९ असार २ बिहीवार १६:४२
shares

काठमाडौं, २ असार । अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखा परेको छ । दुवईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार भइरहेको बताइएको छ ।
अस्पताल भर्ना भएर उपचाररत ती व्यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ ।
‘मङ्की पक्स’ दुर्लभ भाइरल संक्रमण हो । यो पश्चिम र मध्य अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा यो पाइन्छ ।
यो श्वासप्रश्वास वा संक्रमित तरल पदार्थको माध्यमबाट शरीरबाट मानिसमा सर्छ । मानिसमा पनि यसले शरीरमा घाउहरू बनाउने डाक्टरहरुले बताएका छन् । यो भाइरस कोरोना जस्तो भयानक नभए पनि सावधानी अपनाउनु पर्ने डाक्टरको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा मानिसमा पहिलोपटक ‘मङ्की पक्स’ देखिएको थियो । त्यसयता अफ्रिकाका ११ देशमा यसको पुष्टि भइसकेको छ । डब्ल्यूएचओका अनुसार ‘मङ्की पक्स’ लक्षण ६ देखि १३ दिनमा देखिन थाल्छन् ।
ज्वरो आउने, कडा टाउको दुख्ने, कम्मर र मांसपेशीमा पीडा हुने र निकै कमजोरी हुने जस्ता लक्षण देखिन्छन्। संक्रमित व्यक्तिका शरीरमा ठूला राता फोका देखिन्छन्। अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छैन। बिफरको खोप ‘मङ्की पक्स’को विरुद्ध प्रभावकारी मानिन्छ ।















