Dhulikhel Eco Banner new

प्रदेश १ को बजेटले उद्योगी उत्साहित

8.66K
shares

काठमाडौं, २ असार । आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ल्याएको बजेट सकारात्मक भएको उद्योगीहरुले प्रतिक्रिया दिएका छन् ।

उद्योग वाणिज्य महासंघले केटिएम भ्वाईसलाई प्रदेश सरकारले ल्याएको बजेट समग्रमा सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् ।

प्रदेशको बजेटले कृषि क्षेत्रलाई समेटेको हुनाले बजेट राम्रो भएको उनीहरुको तर्क छ । उद्योगको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने कुरा राम्रो रहेको उनीहरुको भनाई छ ।

उद्योग वाणिज्य महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालका अनुसार बजेटले नयाँ–नयाँ कुराहरु समेटेको र कृषिका क्षेत्रमा राम्रो योजनाहरु ल्याएको बताएका छन् । उनले समग्र रुपमा प्रदेश सरकारले बजेट राम्रो ल्याएको बताउका छन् ।

उनले केटिएम भ्वाइससँग भने, ‘ठूला उद्योगीलाई त केन्द्रको बजेटले नै समेट्ने हो, प्रदेशको बजेटले पनि नवीकरण गर्न बाकी रहेका उद्योगीलाई पनि छुट दिने कुरा ल्याएको छ, त्यो राम्रो पक्षको रुपमा रहेको छ ।’

प्रदेशको बजेटले प्रादेशिक लगानी सम्मेलन गर्ने कुरा आएको हुनाले त्यो उद्योगी व्यवसायीको लागि फाइदा जनाक भएको उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत बताउछन् ।

उनी भन्छन्, ‘प्रदेशको क्षमता अनुसारको बजेटमा सवै कुरालाई समेटेको छ, शिक्षा, स्वास्थ्य, पूर्वधार जस्ता पक्षलाई राम्रोसँग समेटेको छ ।’

अहिले अर्थिक मन्दिका कारण कार्यन्वयनमा भने उद्योगीले शंका व्यक्त गरेका छन् । अघिल्लो वर्षको बजेट ८० प्रतिशत कर्यान्यवयन भएकाले आगामि बजेट राम्रोसँग कर्यान्यवयन हुनेमा उनीहरुको विश्वास रहेको छ ।

अध्यक्ष ढकाल भन्छन्, ‘प्रदेशका माननियलाई एक करोड सम्म खर्च गर्न पाउने व्यवस्था छ, त्यसले पनि केहि हद सम्म आम मानिसको हितकालागि खर्च गर्न सकिन्छ ।’

उद्योग वाणिज्य महासंघसँग प्रदेश सरकारले मिलेर काम गर्ने योजना ल्याएको छ । यस विषयमा उपाध्यक्ष राउत भन्छन्, ‘प्रदेश सरकारको समन्वयमा काम गर्न पाउदा हामी खुशि छौँ, हामी आम उद्योगीको हितका लागि काम गर्ने छौँ ।’

कृषिमा आकर्षक बजेट ल्याएको उनीहरुको भनाई छ । कृषि बजारीकरण गर्ने देखि भण्डारण गर्ने सम्मका कुराहरु समेटिएकाले गर्दा पनि बजेट राम्रो भएको उद्योगीको तर्क छ ।

कृषि कर्जामा सहुलिएत दिने र अनुदान दिने कुराको पनि उद्योगीले खुलेरै प्रशंसा गरेका छन् । उपाध्यक्ष राउत भन्छन्, ‘राजस्व छुटको कुरा केन्द्रको नीतिले नै गर्ने हो, प्रदेशको बजेटले साना–साना उद्योगलाई जसरी समेट्नु पर्ने हो त्यसरी समेटेको छ ।’

प्रदेश सरकारले अझै साना योजनालाई समेट्न बाकी रहेको बताएका छन् । तर त्यो स्थानीय सरकारले त्यसलाई समेट्नु पर्ने उनीहरुको भनाई छ ।

प्राविधिक शिक्षामा जोड दिएकोमा प्रदेश सरकारलाई उद्योगीले धन्यवाद दिएका छन् । त्यसरी प्राविधिक शिक्षामा जोड दिएमा दक्ष जनशक्ति उत्पादन हुने र त्यसले अन्तत नेपाललाई नै फाइदा हुने उद्योगीको भनाई छ ।

प्रदेश सरकारले अन्तरिक राजस्व उठाउने लक्षमा उद्योगीले शंका गरेका छन् । राजस्व उठाउने कुरा चुनौतीपुर्ण रहेककाले त्यसमा केहि भन्न नसकिने उनीहरको भनाई छ ।

आगामी आर्थिक वर्षको लागि प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमा न्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख र बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने भनिएको छ ।