Dhulikhel Eco Banner new

सार्वजनिक संस्थानबाट लाभांश ३५ प्रतिशतले घट्यो, सरकारलाई कम आम्दानी

2.28K
shares

काठमाडौं, १५ जेठ । सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश ३५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश पाएको सरकारले आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड मात्रै पाएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार, सार्वजनिक संस्थानहरूको प्रदर्शन कमजोर भएको देखिएको छ। सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा छन् भने १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो। नाफामा रहेका संस्थानहरूको खुद नाफा पनि ११.५० प्रतिशतले घटेको देखिएको छ।

त्यस्तै, नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड पुगेको छ । गत वर्षको तुलनामा ८.६५ प्रतिशतले वृद्धि भएको छ।

सरकारको कुल शेयर लगानीको अनुपातमा लाभांश प्रतिशत २०८०/८१ मा २.४२ प्रतिशत रहेको छ। सार्वजनिक संस्थानमा नेपालको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जसमा शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ।