Dhulikhel Eco Banner new

माधव नेपालसहित सनराइज बैंकका तत्कालीन सिइओविरुद्ध भ्रष्टाचार मुद्दा

2.2K
shares

काठमाडौं, २३ जेठ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा काभ्रेको साँगामा खरिद गरिएको हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणमा सनराइज बैंक पनि मुछिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार तत्कालीन सिइओ किशोर महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम व्यवस्थापन विभागका प्रमुख सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुलीलाई ‘मतियार’ का रूपमा अभियोग दायर गरिएको हो।

त्यस्तै, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कोइराला, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धि, अनुपालन विभागका कर्मचारी सुनिलरत्न स्थापित, नायब महाप्रबन्धक बलराम विष्ट र जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनालीलाई प्रतिवादी बनाइएको छ।

उनीहरूमाथि मुख्य कसुरदारसरह भ्रष्टाचार अभियोग लगाउँदै १८ करोड ५८ लाख ५० हजार बिगो कायम गरिएको छ।

आयोगका अनुसार काभ्रेको साँगास्थित ५५४ रोपनी हदबन्दीभन्दा बढी जग्गा कानुनविपरीत खरिदबिक्री गरिएका थिए। उक्त जग्गालाई बैंकमार्फत धितो राखी कर्जा प्रवाह गरिएको पाइएपछि बैंकका कर्मचारीहरू समेत प्रतिवादी बनाइएको हो।

उक्त जग्गा खरिदमा सरकारी भूमिसम्बन्धी कानुन उल्लघंन भएको निष्कर्ष निकाल्दै आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। हाल सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज भई लक्ष्मी सनराइज बैंक लिमिटेड बनेको छ।