हिमालयन बैंकबाट बाहिरिँदै पाकिस्तानी हबिब बैंक
वि.सं.२०८२ जेठ ३० शुक्रवार १०:१५
shares

काठमाडौं, ३० जेठ । पाकिस्तानी वित्तीय संस्था हबिब बैंक लिमिटेड नेपाली बैंकिङ क्षेत्रबाट बाहिरिने भएको छ । हाल हिमालयन बैंक लिमिटेडमा संस्थापक शेयरधनीको हैसियतमा रहेको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेको हो।
हिमालयन बैंक लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै, हबिब बैंक स्वामित्वमा रहेका २ करोड ८० लाख १२ हजार ४४७।४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जानकारी दिएको छ। उक्त शेयर हाल बैंकको कुल पूँजीको करिब १३ प्रतिशत बराबर रहेको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले यस मूल्य वा सोभन्दा बढीमा कबोल गर्न सक्नेछन्।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीहरूले शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिहरूले आवेदन काठमाडौंको कमलादीस्थित बैंकको मुख्य कार्यालय–हेरिटेज प्लाजास्थित कानुन विभागमा पेश गर्नुपर्नेछ।
यदि सो अवधिमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा, बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमाझ शेयर खुला रुपमा बिक्री गर्ने जनाएको छ।

















