निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ बाँडफाँड
वि.सं.२०८२ जेठ ३० शुक्रवार १०:२३
shares

काठमाडौ., ३० जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत –२०८८/८९’ को बाँडफाँड भएको छ। बैंकले जेठ २८ गतेदेखि ३१ गतेसम्म निष्कासन गरेको यो ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको थियो।
बैंकले कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमा प्रति कित्ता अंकित मूल्य १ हजार रुपैयाँ रहेको थियो। तीमध्ये ३० लाख कित्ता व्यक्तिगतबाट, १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी १९ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको हो।
बिक्री अवधिमा सर्वसाधारणबाट मागभन्दा बढी आवेदन परेपछि बैंकले अयोग्य आवेदनलाई रद्द गरी बाँकी योग्य आवेदकहरूलाई बाँडफाँड गरेको जानकारी दिएको छ। बाँडफाँडमा नपरेका आवेदकहरूको लगानी रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको पनि बैंकले जनाएको छ।
उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। निफ्राले जारी गरेको यो ऋणपत्रबाट संकलित रकम ऊर्जा, पूर्वाधार र हरित परियोजनाहरूमा लगानी गरिने जनाइएको छ।

















