Dhulikhel Eco Banner new

दश महिनामा वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो, हेर्नुस् कुन बैंकको कति नाफा ?

1.98K
shares

काठमाडौं, ३० जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्मको १० महिनामा  वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार, अघिल्लो वर्षको यही अवधिमा वाणिज्य बैंकहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा १.६७ प्रतिशतले घटेको हो।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १० वटाको नाफा वृद्धि भएको छ भने बाँकी १० वटाको नाफा घटेको देखिएको छ। समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउने बैंकको रूपमा नबिल बैंक अग्रस्थानमा रहन सफल भएको छ। नबिल बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा २.५९ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा यस बैंकको नाफा २९.८९ प्रतिशतले वृद्धि भएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहँदै ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.१४ प्रतिशतले बढी हो।

नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ४५७.१२ प्रतिशतको उच्च वृद्धिदर हासिल गरेको छ। एभरेष्ट बैंकको नाफा ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुगेको छ भने एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। प्राइम बैंकको नाफा भने २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.८५ प्रतिशतले कम हो।

स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक लगायतका बैंकहरूले पनि अघिल्लो वर्षको तुलनामा कम नाफा आर्जन गरेका छन्। सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, र माछापुच्छ्रे बैंकको भने नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ।

हेर्नुस कुन बैंकको कति नाफा:

बैंक चालु आ.वको बैशाखसम्मको नाफा (१० लाखमा) गत आ.वको बैशाखसम्मको नाफा (१० लाखमा) फरक (प्रतिशतमा)
नबिल ५,६०३.९१ ५,४६२.५७ २.५९
ग्लोबल आइएमई ५३५५.४१ ४,१२२.९९ २९.८९
नेपाल इन्भेष्टमेन्ट मेगा ५,०२०.८३ ३,७७१.०३ ३३.१४
नेपाल ३२२८.७७ ५९०.३२ ४५७.१२
एभरेष्ट ३,९०३.३० २,९८०.३५ ३०.९७
एनएमबि २,६२५.४९ २,४८७.३१ ५.५६
प्राइम २,५८५.५९ ३,२२५.७५ १९.८५
स्टाण्डर्ड चार्टर्ड २,३४६.४२ २,६६५.८६ –११.९८
लक्ष्मी सनराइज २,१५६.५४ १,९५६.९६ १०.२
सिद्धार्थ २०११.१६ १,९७७.७२ १.६९
प्रभु २,००१.४० २५०४.६२ –२०.०९
सानिमा १,८७०.५० १,७४६.४४ ७.१
राष्ट्रिय वाणिज्य १,७७०.४३ २,५६३.२१ –३०.९३
कृषि विकास १७३३.८ २,६९७.८१ –३५.७३
नेपाल एसबिआई १,३८२.०७ १४२२.९५ –२.८७
माछापुच्छ्रे १३१३.५३ ११०६.२२ १८.७४
सिटिजन्स ११८१.५१ १५०३.२३ –२१.४
हिमालयन ६८३.४४ २,२२८.९८ –६९.३४
कुमारी ४८१.९४ १,४२९.२० –६६.२८
एनआइसी एशिया ४७८.७ २,१६३.२४ –७७.८७
जम्मा ४७७९४.७४ ४८६०६.७६ –१.६७