Dhulikhel Eco Banner new

उपचारमा लापरबाहीको मुद्दामा ओम हस्पिटललाई ५० लाख ७० हजार क्षतिपूर्ति तिर्न अदालतको आदेश

3.39K
shares

काठमाडौं, ३० जेठ । चाबहिलस्थित ओम अस्पतालले चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको ठहर गर्दै उपभोक्ता अदालतले अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

यो मुद्दा उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा हो जुन २०८० चैत २ गते दर्ता भएको थियो। अदालतले बिहीबार निर्णय सुनाउँदै अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो।

अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले अस्पतालको लापरवाहीबाट बिरामीको मृत्यु भएको पुष्टि गर्दै कुल क्षतिको ८० प्रतिशत अस्पतालले र बाँकी २० प्रतिशत चिकित्सकहरूले व्यहोर्नुपर्ने ठहर गरेको हो।

अदालतले चिकित्सकहरूलाई छुट्टै ६ लाख १० हजार छुट्टै तिर्न आदेश दिएको छ।
बुढानीलकण्ठ–९ निवासी बसन्त गौतमले दायर गरेको उक्त मुद्दामा उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतमको मृत्युबारे क्षतिपूर्ति माग गरिएको थियो।

अदालतमा पेश गरिएको विवरण अनुसार, वृद्ध गौतम बाथरुममा लडेपछि ओम अस्पतालमा भर्ना भएका थिए। तर अस्पतालले आवश्यक परीक्षण नगरी सिधै पीडानाशक इन्जेक्सन दिएको जसका कारण उनको ज्यान गएको भन्दै बसन्तले ५ करोड क्षतिपूर्तिको माग गरेका थिए।

मुद्दादाता गौतमले ५ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए। तर अदालतले मागको तुलना गर्दा प्रमाण र लापरवाहीको आधारमा ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति उचित ठहर गरेको हो।