दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
वि.सं.२०८३ असार १० बुधवार १५:५९
shares

काठमाडौं, १० असार । कावासोती नगरपालिकाले दूध उत्पादन बढाउने लक्ष्यका साथ किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिने काम गरिरहेको छ। पशु विकास अधिकृत अच्युत आचार्यका भनाइअनुसार चालु आर्थिक वर्षमा यसका लागि रु २८ लाख खर्च भएको छ।
नगरपालिकाले प्रतिलिटर दूधमा रु दुईका दरले अनुदान दिने व्यवस्था गरेको छ, जो नगरभित्रका पाँच सहकारीहरूमार्फत बाँडिन्छ। किसानले सहकारीमा बेचेको दूधको परिमाणअनुसार नै अनुदान निर्धारण हुन्छ। यसपालि १५ लाख ४३ हजार ११३ लिटर दूधका लागि अनुदान वितरण भएको आचार्यले जनाएका छन्। उत्पादन अघिल्लो वर्षभन्दा बढी भएकाले अनुदान दर अलिक घटाएर सबै किसानलाई समेट्ने प्रयास गरिएको पनि उनले बताए।
जुन पाँच सहकारीमार्फत यो अनुदान वितरण भइरहेको छ ती हुन्स् साना किसान कृषि सहकारी संस्था (कावासोती–१४), एकीकृत दुग्ध विकास सहकारी संस्था ९कावासोती–८०, जनकल्याण कृषि तथा दुग्ध सहकारी (कावासोती–१७), शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी (कावासोती–२), र नमूना दुग्ध उत्पादक सहकारी (कावासोती–१७)। यी सहकारीले किसानलाई दिने दरमा नगरपालिकाको अनुदान थप गरिने व्यवस्था छ।
नगरप्रमुख विष्णुप्रसाद भुसालका अनुसार उत्पादनमा आधारित अनुदानले किसानलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने भएकाले यो नीति अपनाइएको हो। यसले किसानको उत्पादन लागत घटाउन र दूध उत्पादन बढाउन सघाउ पुग्ने नगरपालिकाको विश्वास छ।
आउँदो आर्थिक वर्षका लागि पनि नगरपालिकाले उत्पादनमा आधारित अनुदानका लागि रु ५४ लाख बजेट छुट्याएको छ, जो मङ्गलबार सम्पन्न नगरसभाबाट पारित भएको हो। यसअन्तर्गत दूध र माछापालन लगायतका कार्यक्रमलाई समेटिने पशु विकास अधिकृत आचार्यले जानकारी दिएका छन्।


















