Dhulikhel Eco Banner new

गभर्नर डा. पौडेल बीआईएसको ९५औं वार्षिक बैठकमा सहभागी

2.83K
shares

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् । उक्त बैठक सन् २०२५ को जुन २७ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

सन् १९३० मा स्थापना भएको बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो । जसमा हाल ६३ वटा मुलुकका केन्द्रीय बैंक सदस्य छन्। विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम गर्न बीआईएसले केन्द्रीय बैंकहरूबीच सहकार्य, अनुभव आदानप्रदान र वित्तीय प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।

बैठकको क्रममा गभर्नर डा. पौडेलले ‘विकासशील बजार र अर्थतन्त्रहरूः वित्तीय समावेशीकरण, क्षेत्रीय एकीकरण र अन्तरदेशीय भुक्तानी प्रणालीमा सुधार भन्ने विषयमा छलफल गरिएका अन्तरक्रियात्मक कार्यक्रमहरूमा सहभागी भएका थिए । यी कार्यक्रममा वित्तीय पहुँच विस्तार, क्षेत्रीय एकीकरण, अन्तरदेशीय भुक्तानी प्रणाली सुधार तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट उत्पन्न चुनौतीहरू र त्यसको समाधानबारे गहन छलफल भएको थियो।

त्यसैगरी, गभर्नर डा. पौडेलले ‘नियमन र प्रतिस्पर्धात्मकता’ सम्बन्धी छलफल कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउनुभएको थियो। बैठकमा बीआईएसका प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रख्यात अर्थशास्त्रीले अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकको क्रममा गभर्नर डा. पौडेलले चिनियाँ जन बैंकका गभर्नर पान गोङशेङसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशका केन्द्रीय बैंकबीच द्विपक्षीय सहकार्य, बैंकिङ कारोबार र भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउन आवश्यक पहलबारे छलफल भएको थियो।

त्यसैगरी, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँग पनि डा. पौडेलको भेटवार्ता भएको थियो। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनाएका थिए।

गभर्नर डा. पौडेलले बीआईएसका प्रमुख, बैंकिङ विभागका प्रमुख तथा अन्य उच्च अधिकारीहरूसँग छुट्टै बैठक गर्दै विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा सुन खरिद र नयाँ वित्तीय उपकरणहरू मार्फत लगानी विविधीकरण गर्ने विषयमा छलफल गरेका थिए। साथै, वैदेशिक मुद्रा सञ्चिति सुरक्षित, लाभदायक र प्रभावकारी रूपमा व्यवस्थापन गर्न आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे पनि सहमति जुटाइएको थियो।

उक्त भ्रमणमा गभर्नर डा. पौडेलसँगै बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक तथा सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी पनि सहभागी भएका थिए।

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व र प्रविधिमा आधारित नीति निर्माणमा अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रमहरूलाई अत्यन्त महत्वपूर्ण ठान्दै आएको छ।