शक्तिदेवी इन्टरनेसनललाई एमआरपी र गुणस्तर हेरफेरको अभियोगमा करिब ३ लाख जरिवाना
वि.सं.२०८२ असार २३ सोमवार २०:१२
shares

काठमाडौं, २३ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको ठहर गर्दै शक्तिदेवी इन्टरनेसनल प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना तिराएको छ।
सोमवार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–९ स्थित कम्पनीमा अनुगमन गर्दा एमआरपी ९अधिकतम खुद्रा मूल्य० उल्लेख नगरेको, उत्पादनमा रिलेबलिङ पुनः लेबल लगाउने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
विभागका अनुसार यो कारबाही उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) तथा दफा ३९ (१) (ख) बमोजिम गरिएको हो।
विभागले उक्त दिन पाँच वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो। पछिल्लो समय बजारमा पारदर्शिता कायम राख्न र उपभोक्ताको हकहित सुरक्षित गर्न विभागले अनुगमन तीव्र बनाएको छ। विभागले एमआरपीसहितको लेबलले बजारमा ठगी रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आएको छ।
विभागले दैनिक रूपमा बजार अनुगमनका क्रममा एमआरपी लेबल नलगाउने, रिलेबलिङ गर्ने तथा उत्पादनका गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी तथा व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तिराउँदै आएको छ।















