Dhulikhel Eco Banner new

कैलाली कारागारमा कैदीबीच झडप, एक जना घाइते

1.48K
shares

काठमाडौं, २८ असार ।कैलाली जिल्ला कारागारमा कैदीबन्दीहरूबीच शनिबार दिउँसो झडप भएको छ। कारागारका नाइके खगेन्द्र बोगटीमाथि भएको कुटपिटपछि स्थिति तनावपूर्ण बनेको थियो।

प्रहरीका अनुसार कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको नाक र मुखमा चोट लागेको जनाइएको छ।

कारागार प्रशासनका अनुसार बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कैदी कपिल श्रेष्ठको समूहले आक्रमण गरेको हो। घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख एसपी बाल नरसिंह राणा कारागार पुगेका थिए।

एसपी राणाले कैदीबन्दीहरूबीच सामान्य विवाद भएको भन्दै अवस्था अहिले सामान्य भइसकेको जानकारी दिएका छन्। तर सुरक्षा स्रोतका अनुसार हालैको निरीक्षणका क्रममा ब्लक एु मा रहेका केही कैदीहरूसँग मोबाइल फेला परेको थियो। त्यसपछि सात जना कैदीलाई ब्लक बी मा सारिएको थियो।

यसैबीच, नाइके बोगटीले आफू जेलरको मान्छे भएको दाबी गर्दै रवाफ देखाएको भन्दै श्रेष्ठ समूहले आक्रोशित भई आक्रमण गरेको बताइएको छ। यद्यपि, प्रहरीले भने कैदीहरूबीच सामान्य धकेलाधकेल हुँदा बोगटी घाइते भएको दाबी गरेको छ।

प्रमुख जिल्ला अधिकारी हमालले पनि घटनालाई सामान्य विवादका रूपमा चित्रण गर्दै स्थिति नियन्त्रणमा रहेको बताए।

घटनापछि केही कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थितिमा नै खत्रीले कारागारमा मनोमानी गर्दै आएको आरोप लगाएका थिए।