Dhulikhel Eco Banner new

समाज रूपान्तरणका लागि विचार अपरिहार्य छ :पूर्वराष्ट्रपति भण्डारी

1.95K
shares

काठमाडौं, २८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणका लागि विचार नै सबैभन्दा महत्वपूर्ण तत्व भएको बताएकी छन्। शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको उल्लेख गरिन्।

उनले नेकपा एमालेले पनि जबजको सिद्धान्तलाई आत्मसात् गर्दै साझा राष्ट्रिय लक्ष्य प्राप्तिको मार्ग तय गरिरहेको बताइन्। जबजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय तथा उच्च शिक्षा क्षेत्रका अध्येताहरू माझ अझ व्यापक रूपमा प्रचार–प्रसार गर्न आवश्यक रहेको भण्डारीको भनाइ थियो।

उनले भनिन्, “जबज सामाजिक र आर्थिक रूपान्तरणको एउटा बृहत्तर सिद्धान्त हो। भर्खरै यसको जर्नल प्रकाशन सुरु भएकाले यसमा जबजका सबै आयाम समेटिन नसक्नुलाई अन्यथा लिनु हुँदैन।”

पूर्वराष्ट्रपति भण्डारीका अनुसार जबजले मार्क्सवाद र लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै आएको छ। यसले नेपालको सामाजिक, ऐतिहासिक, सांस्कृतिक र भूराजनीतिक विशेषतालाई आत्मसात् गर्दै लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समेटेर समाजवादको विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको उनले स्पष्ट पारिन्।