नौ फर्ममाथि उपभोक्ता ऐन उल्लंघनमा कारबाही, दुई संस्थालाई लाखौँ जरिवाना
वि.सं.२०८२ असार ३२ बुधवार ११:५०
shares

काठमाडौं, ३२ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७४ र उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएका नौ वटा फर्म तथा संस्थामाथि कारबाही गरेको छ। विभागले मंगलबार देशका विभिन्न स्थानमा गरेको अनुगमनपछि जरिवाना र निर्देशनात्मक कारबाही गरेको जनाएको छ।
अनुगमनका क्रममा बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिमाथि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। यसैगरी, ललितपुर महानगरपालिका–०२ मा सञ्चालनमा रहेको एस।भी।एल। प्रोफेशनल प्रालिलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अन्य सातवटा फर्महरूलाई भने आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती फर्महरूमा केश नेपाल, एस।एस। एजुकेशन सलुसन सर्भिस प्रा.लि., द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, राहुल ट्रेड लिंक्स, अक्सव्रिज फाउन्डेशन फर ग्लोबल स्टडिज , प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट प्रा.लि. र पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रा. लि. परेका छन्।
तीमध्ये पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रालि र प्यासिफिक एजुकेशन कन्सल्टेन्सीलाई विभागले सामान्य निर्देशन मात्र दिएको छ। विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनको दफा २९ भ्रामक प्रचार वा जानकारी र दफा ३९ अनुगमनमा अवरोध वा सहयोग नगर्ने अन्तर्गतका उल्लंघन फेला पारेको र त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।
विभागले उपभोक्ता हक र हित सुरक्षित गर्न यस्ता अनुगमन कार्यलाई निरन्तरता दिइने जनाएको छ।















