रकम नपुग्ने चेक जारी गरे कैद र जरिवाना हुन सक्छः राष्ट्र बैंक
वि.सं.२०८२ साउन ६ मंगलवार १०:३२
shares

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चेक अनादरजस्ता गम्भीर बैंकिङ अपराधबारे सर्वसाधारणलाई सचेत गराउन देशव्यापी वित्तीय चेतनामूलक अभियान सुरु गरेको छ। बैंकिङ प्रणालीमा पारदर्शिता र उत्तरदायित्व बढाउने उद्देश्यसहित सुरु गरिएको यस अभियानमार्फत नागरिकलाई चेक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र चेक अनादर हुँदा लाग्न सक्ने कानूनी परिणामबारे जानकारी प्रदान गरिँदैछ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको सूचनामा भनिएको छ कि कुनै व्यक्तिले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नरहेको वा रकम भए पनि भुक्तानीका लागि नपुग्ने अवस्थामा चेक जारी गर्नु गैरकानूनी कार्य हो। यसरी जारी गरिएको चेकको भुक्तानी नहुँदा त्यसलाई बैंकिङ कसुरसम्बन्धी गम्भीर अपराध मानिन्छ।
चेक अनादरको अवस्था आएमा बैंक, वित्तीय संस्था वा सहकारी बैंकले चेक जारी गर्ने खातावालालाई रकम जम्मा गर्नका लागि अधिकतम ४५ दिनको समय दिन सक्छ। सो समयावधि सकिएपछि पनि खातामा रकम नपुग्ने अवस्था कायम रहेमा सम्बन्धित बैंकले तीन दिनभित्र चेक अनादरको विवरण प्रमाणित गर्दै चेक धारकलाई फिर्ता गरिदिनुपर्ने व्यवस्था गरिएको छ।
यसरी चेक अनादर भएको अवस्थामा चेक जारी गर्ने व्यक्तिले चेकधारकलाई विगोबमोजिमको रकम, त्यसमा लाग्ने ब्याज तथा विगोको पाँच प्रतिशत जरिवाना तिर्नुपर्नेछ। साथै, कानूनबमोजिम कैद सजायसमेत हुन सक्ने प्रावधान रहेको छ।
नेपाल राष्ट्र बैंकले नागरिकहरूलाई आफ्नो खाताको मौज्दात रकम जाँच गरी मात्र चेक जारी गर्न र चेक अनादरबाट हुने कानूनी कारबाहीबाट जोगिन सचेत गराएको छ। यस अभियानअन्तर्गत बैंकले सामाजिक सञ्जाल, पोस्टर, रेडियो, टेलिभिजन तथा अन्य सञ्चार माध्यममार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ।


















