माछापुच्छ्रे बैंकको खुद नाफा बढ्यो, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ साउन २० मंगलवार १०:१५
shares

काठमाडौं, २० साउन । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गत आवमा बैंकले १ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।

















