३१ विद्यालय शून्य विद्यार्थीः शिक्षक तलब चालु, तर पढ्ने कोही छैन्
वि.सं.२०८२ साउन २४ शनिवार १२:३१
shares

काठमाडौं, २४ साउन । विद्यालय छ, शिक्षक छन्, तलब पनि चल्दैछ – तर विद्यार्थी छैनन् । यो कुनै कल्पनाको कथा होइन, वास्तविकता हो – पर्वत जिल्लाका ३१ सामुदायिक विद्यालयको।
गुणस्तरीय शिक्षाको खोजीमा बालबालिका शहरतिर तानिँदै गर्दा गाउँका विद्यालय सुनसान हुँदै गएका छन्। जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार हाल जिल्लाका सात वटै स्थानीय तहमा रहेका ३१ विद्यालयमा शून्य विद्यार्थी छन्। तर, आश्चर्यको कुरा – यी विद्यालयहरू अझै पनि सञ्चालनमा छन्।
सबैभन्दा बढी शून्य विद्यार्थी भएका विद्यालय मोदी गाउँपालिकामा ९ वटा छन्। त्यसपछि कुश्मा नगरपालिकामा ८, फलेवास नगरपालिकामा ६, जलजला गाउँपालिकामा ४, विहादी र पैँयू गाउँपालिकामा २र२ वटा विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य छ।
तर यस्ता विद्यालयलाई अझै समायोजन गर्न स्थानीय तहहरू तयार छैनन्। जिल्ला शिक्षा प्रमुख मतिलाल चपाई भन्छन्, “शिक्षकहरूको सरुवा गरेर विद्यार्थी भएका विद्यालयमा खटाउने काम पनि गरिएको छैन।ू
कुश्मा, फलेवास, मोदी लगायतका गाउँ(नगरपालिकामा रहेका यी विद्यालयहरूमा शिक्षकहरू भने यथावत् छन्। वडाध्यक्ष गङ्गानारायण श्रेष्ठको भनाइमा – “विद्यार्थी नभए पनि तलब खुवाउनु परेको छ। यो राज्यको बजेटको दुरुपयोग हो। तर, राजनीतिक दबाब र रोजगारी जोगाउने दबाबका कारण विद्यालय बन्द गर्न सकिएको छैन।”
स्थानीय धर्म पौडेलका अनुसार, “रित्तो विद्यालयलाई राजनीतिज्ञहरूले संरक्षण गरिरहेका छन्। केही शिक्षक र कर्मचारीले स्थायी रोजगार गुम्ने डरले विद्यालय समायोजन हुन नदिएको हो।”
२७२ सामुदायिक विद्यालयमध्ये ३१ वटा पूरै विद्यार्थीविहीन हुनु भनेको करिब ११ प्रतिशत विद्यालयले काम नगरेको अर्थमा बुझ्न सकिन्छ। यस्तोमा राज्यको करोडौंको बजेट खेर गइरहेको छ।
शिक्षा मन्त्रालय र स्थानीय सरकारको भूमिकामा प्रश्न उठ्दै गएको छ। शिक्षा नीतिमा स्पष्टता नहुँदा गाउँका बालबालिका शहर पलायन भइरहेका छन् भने शिक्षकहरू बिनाकाम बसी तलब खाइरहेका छन्।

















