Dhulikhel Eco Banner new

यस वर्ष दशैंमा पनि नयाँ नोटको सट्टा सुकिला नोट साटिने

2.95K
shares

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा सर्वसाधारणलाई नयाँ नोटको सट्टा सुकिला (सफा र राम्रो अवस्थामा रहेका( नोट साट्ने भएको छ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नयाँ नोट प्रयोगपछि राम्रो अवस्थामा रहेर बैंकहरूमा फिर्ता भएकाले ती सुकिला नोटलाई नै पुनः प्रयोगमा ल्याउने निर्णय गरिएको बताएका छन् ।

उनले भने, “यस वर्ष सर्वसाधारणले नयाँ नोट होइन, सुकिला नोट नै साट्न पाउनेछन्। तर पाँच रुपैयाँ दरका नोट भने नयाँ नै पाइनेछन्।”

प्रवक्ता पण्डितका अनुसार सुकिला नोट साट्ने व्यवस्था दशैं मात्र नभई अन्य चाडपर्व तथा सामान्य समयमा पनि उपलब्ध हुनेछ। राष्ट्र बैंकले चाडपर्वका लागि प्रतिव्यक्ति रु. १८,५०० सम्मको सटही सीमा तोक्ने योजना बनाएको छ।

नोट साट्ने सुविधा राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय, सातै प्रदेशका प्रादेशिक कार्यालयहरू, वाणिज्य बैंकहरू तथा नोट कोष सञ्चालनमा रहेका विभिन्न जिल्लाका शाखाहरूबाट उपलब्ध हुनेछ।

राष्ट्र बैंकले बैंकहरूलाई पर्याप्त मात्रामा सुकिला नोट उपलब्ध गराउने भएकाले सर्वसाधारणले सजिलै आफ्नो नजिकको बैंकमार्फत दशैंका लागि नोट साट्न सक्ने व्यवस्था मिलाइएको छ।