हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय
वि.सं.२०८२ असोज ९ बिहीवार १७:०८
shares

काठमाडौं, ९ असोज । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा अन्य आवश्यक एजेन्डामाथि छलफल गरी पारित गरेको छ।
सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षकका रूपमा एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।
सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले छोटो समयमै हासिल गरेको प्रगति र भविष्यका योजना प्रस्तुत गर्दै, हिमालयन सेक्युरिटिजले सुशासन, नियमनको पूर्ण पालना र आधुनिक प्रविधिको प्रयोगमार्फत सबैलाई सहज र विश्वसनीय धितोपत्र दलाल सेवा प्रदान गर्दै आएको बताए। साथै, उनले कम्पनीले निकट भविष्यमा नेपालको धितोपत्र बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जानकारी गराए।
हिमालयन सेक्युरिटिज लिमिटेडले सेवा विस्तार, ग्राहक सन्तुष्टि, र प्रविधिमैत्री प्रणालीमार्फत आगामी दिनमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।















