कुलमान मातहत मन्त्रालयमा हटलाइन सञ्चालन, अब घुस माग्नेलाई छुट छैन
वि.सं.२०८२ असोज ९ बिहीवार १७:२०
shares

काठमाडौं, ९ असोज । सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधिहरूलाई नियन्त्रण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हटलाइन सेवा सञ्चालनमा ल्याएका छन्।
मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने, काम पन्छाउने, घुस माग्ने, वा अपमानजनक व्यवहार गर्ने जस्ता गतिविधिबारे सेवा लिने नागरिकले अब सीधा गुनासो गर्न सक्ने व्यवस्था गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि ०१–४२११५११ नम्बरमा सम्पर्क गर्न सकिनेछ भने हटलाइन नम्बर ११५१ समेत सञ्चालनमा ल्याइएको छ। सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१–४२००००१ मा सम्पर्क गर्न सकिने छ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि ०१–४२११७२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
तीनवटै मन्त्रालयमा हुने सेवा सम्वन्धी गुनासोहरू [email protected] मा इमेलमार्फत पठाउन सकिने व्यवस्था पनि गरिएको छ।
मन्त्रालयहरूले गुनासोको तत्काल सुनुवाइ र समाधानमार्फत सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न यो कदम चालिएको बताएका छन्।















