Dhulikhel Eco Banner new

देशभर घरजग्गा कारोबारमा गिरावट, असोज महिनामा राजश्व संकलन घट्यो

2.64K
shares

काठमाडौं, १० कात्तिक । राजधानीसहित देशभर घरजग्गा कारोबारमा निरन्तर उतारचढाव भइरहेका बेला असोज महिनामा कारोबारमा उल्लेखनीय गिरावट आएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार असोजमा मालपोत कार्यालयमार्फत भएका लिखत संख्या र राजश्व दुवै घटेका छन्।

विभागका अनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट जम्मा २३ हजार ३ सय ५३ लिखत पारित भएका छन्। यो संख्या भदौ महिनाको २७ हजार ४ सय ९४ र गत वर्षको असोज महिनाको ३० हजार ५ सय २७ लिखतभन्दा कम हो।

कारोबार घटेसँगै सरकारको राजश्व संकलनमा पनि कमी आएको छ। असोज महिनामा घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड १८ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ। यो रकम भदौ महिनाको ३ अर्ब १४ करोड ७ लाख १६ हजार र साउन महिनाको ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँभन्दा कम हो।

यसअघि असार महिनामा भने घरजग्गा कारोबारमा असामान्य वृद्धि देखिएको थियो। सो महिनामा ५५ हजार ५ सय २४ लिखत पारित हुँदा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो।

काठमाडौं उपत्यकाभित्र पनि कारोबारमा भिन्नता देखिएको छ। डिल्लीबजार मालपोत कार्यालयबाट १५० लिखत, चाबहिलबाट ३७७, कलंकीबाट ९, साँखुबाट ३३०, मनमैजुबाट १५३ र टोखाबाट १२४ लिखत पारित भएका छन्।