बार्सिलोनामा हुने लोक तथा दोहरी गीत प्रतिष्ठान युरोप (EU) शाखाको चौथो अधिवेशनको भव्य तयारी
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १९:४९
shares

नर्बे, ३० अक्टोबर । लोक साहित्यको प्रवर्द्धन, संरक्षण र व्यवस्थापनसँगै यूरोपलाई आफ्नो कर्मथलो बनाई रहेका प्रवासी नेपाली कलाकारहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल यूरोप (EU) शाखा आगामी नोभेम्बर ४ मा चौथो अधिवेशन गर्न तयारी अवस्थामा पुगेको छ। अधिवेशन स्पेनको आकर्षक शहर बार्सिलोनामा भव्य रूपमा आयोजना हुने भएको हो।
२०१६ सालमा सुमित्रा घिमिरेको अध्यक्षतामा स्थापना भएको यो संस्था यूरोपका विभिन्न देशहरूमा रहेका नेपाली कलाकार र साहित्य प्रेमीहरूको साझा मञ्चका रूपमा स्थापित छ। यसले नेपाली मौलिक बाजा र लोक संस्कृतिको प्रचार–प्रसार गर्दै जन्मभूमिप्रतिको माया जीवित राख्ने काम गर्दै आएको छ।
संस्थाका वर्तमान अध्यक्ष पूर्ण बहादुर आर्यालका अनुसार, अधिवेशनका सम्पूर्ण तयारीहरू पूरा भइसकेका छन्। यूरोपका करिब २५ देशबाट झण्डै २०० प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। अधिवेशनमा संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम र मौलिक लोक प्रस्तुतिहरू पनि रहनेछन्।
संगठनको नेतृत्व चयनका विषयमा भने हाल अन्योल देखिएको छ। एक वरिष्ठ कलाकारका अनुसार, नेतृत्वका लागि वरियताको क्रम र कार्यक्षमताका आधारमा नर्वे निवासी वरिष्ठ उपाध्यक्ष सुवास पुन बलियो उम्मेदवारका रूपमा चर्चामा छन्।
संस्थाका निबर्तमान अध्यक्ष भगवान भूजेलको कार्यकालपछि वर्तमान अध्यक्ष आर्यालको नेतृत्वमा संस्था थप सशक्त बनेको र यस अधिवेशनलाई ऐतिहासिक र भव्य रूपमा सफल पार्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।

















