Dhulikhel Eco Banner new

प्रधानमन्त्री प्रसाई….

21.62K
shares

ओ भाई ओ…देखौ त, भयो नि हैन ? देख्यौ नी हैन ? प्रधानमन्त्री को भयो देशमा ? २० लाख मुनिको ऋण मिनाहा भनेको हैन ? गरे नी होईन ? देख्यौनी हैन ? राजा आउछन भनेको हैन ? देख्यौ नी हैन ? शिक्षा र स्वास्थ्य फ्रि (निशुल्क) भनेको हैन ? देख्यौ नी हैन ? लु मिलाएर लेख अब‘ कुरा गर्छ‘। अब लेख, जनताको प्रधानमन्त्री पायो देशले । गरिब दुखी, सहकारीपिडीत, लघुवित्त पिडित, सर्वहारा वर्ग, भूईमान्छेको आवाज बोक्ने मान्छे देशको प्रधानमन्त्री भयो देख्यौ नी? लु अब लेख तिम्रो अनलाइनमा…. कुरा गर्छ । देशले काँचुली फेर्छ भनेको हैन कि कसो, देख्यौ नी हैन ? गत वर्ष पर्यटक कति आए देशमा देख्यौ नी हैन ? लु लेख अब । दश वर्ष अगाडी वर्षमा मुस्किलले १२/१५ लाख आउने टुरिस्ट यो असोजमा मात्रै १८ लाख पचास हजार माथी आएछन् हैन ? केहि वर्ष अगाडी १४०० हाराहारी रहेको हाम्रो आम्दानी, (प्रति व्यक्ति आम्दानी) अहिले ६१००० डलर छ हैन । स्टाण्डर्ड लाइफ के हो बुझ्यौ नी होईन । लु लेख अब ? तिम्रो अनलाईन ।

तिन ईन्च सारिदिन्छु के हा हा हा…। अब नी लेख्न गाह्रो हुन्छ तिमीलाई । ७५/७६ सालतिर मैले कतारबाट रोईरहेका दिदीबहिनीको उद्दार गर्दा नलेख्ने तिमी हैन ? लु लेख अब ? देख्यौ नी देशमा उद्योगधन्दा कलकारखाना कसरी चल्दो रहेछ देख्यौ नी हैन ? विराटनगर जुट मिल कसरी चल्दो रहेछ ? कति उत्पादन हुँदो रहेछ, जुट वर्षमा । देख्यौ नी हैन, लु लेख अब ? कुरा गर्छौ । विसं १९९३ मा स्थापना भएको जुट मिल झण्डै ८० वर्ष चलेको, यत्रो सम्पत्ती बेचेका थिए हैन ? ७० टन उत्पादन हुन्छ दिनमा, ५२ सयले रोजगारी पाएका छन अहिले । पूर्वका जिल्लाहरुमा पुरै जुटको खेती हुन्छ, घरै पिच्छे मान्छे रोजगार छन, गएर हेर, अनि लेख तिम्रो अनलाइनमा ? कि के हो भाई, ठिक छ नि हैन ?

हा हा हा…आफ्नो पुरानो पारामा हाँस्दै दुर्गा भन्छन, गफ गरेको है । नरिसाउ के । “तिमीहरु, मैले त्यतिवेला, तेत्रो जेन जी भाईहरुको निशुल्क उपचार गर्दा, एकदिन लेख्यौ ? लेखेनौ नी हैन ? अहिले देशभर स्वास्थ्य फ्रि छ । था (थाहा) भो नी हैन ? देख्यौ नी हैन ? लु लेख अब ? गरे हुँदो रछ नी हैन ? भयो नि हैन ? लु लेख अब कुरा गर्छ, हा हा हा…. । कसरी गरें थाहा भो हैन रु देश भरका मठ मन्दिरका भेटी राज्यले लिने, छुट्टै कोषमा राख्ने र तेस्रोले शिक्षा र स्वास्थ्यमा खर्च गर्ने । मेरो आईडिया कस्तो लाग्यो ? देख्यौ नी ? त्यतिवेला दैनिक २ लाख, ३ लाख पैसा उठ्ने भगवान पशुपतिनाथ मन्दिरमा अहिले दिन्कै (दैनिक) १० देखि १५ लाख उठ्छ था (थाहा) पायौ नी हैन रु जनताले बुझे न, आफ्नै उपचारमा खर्च हुने त रहेछ नी भन्दै, उतिवेला ५ रुपैया चढाउने ले अहिले ५० चढाउछ, १० चढाउने १०० चढाउछ किनकी उ ढुक्क छ यहां चढाएको पैसा हाम्रै उपचारमा खर्च हुने हो भन्ने । हेर त ११ देश भरका मठ मन्दिरमा दैनिक कति भेटी उठ्छ, पाथीभरा हेर, कालिन्चोक हेर, स्वर्गद्वारी हेर, लुम्विनी हेर कहाँ हेर्छौं । मैले भनेको हैन, म त काली माँ को भक्त हो के ? हा हा हा… ।

आईडिया चाहियो के भाई आईडिया । के थिएन र हामीसंग । दिनरात देश लुटेका छन, युवा जती विदेश पठाएका छन । खाडीको रेमिटेन्सले देश चलाएका हैन, त्यतिबेला । घरी यो बुढा घरी त्यो बुढा, घुमेको घुमै, पालैपालो । देख्यौ नी तिनीहरुलाई ? ओली र देउवा जेलमै मरे । दाहाल, नेपाल‘ जेलमा मुढा बुन्दै छन हैन, हा हा हा…। सोझा जनतामाथि पाप गरेको भोग्दै छन देख्यौ नी हैन? लो लेख अब । ढुक्कसँग लेख अब । कि के हो भाई कि डर लाग्छ हो.. अझै साँचो लेख्नलाई ?

लो हेर भाई, हाम्रो शिक्षा विश्वमा एक नम्वरमा छ अहिले । कक्षा पांच सम्म अनिवार्य संस्कृत, दश कक्षा सम्म अनिवार्य नैतिक र ९, १०, ११, १२ मा अनिवार्य भूगोल राखेपछि हाम्रो शिक्षा, विश्वमा एक नम्वर रोजाइको छ । संस्कृत शिक्षाले वाणीमा मिठास ल्याएको छ, नैतिक शिक्षाले व्यावहारमा सरलता थपेको छ, भूगोल शिक्षाले देश तथा विदेशको हावापानी, वनस्पती, उत्पादन, जनसंख्या….. आदी यावत कुराहरुको यथेष्ट जानकारी प्रदान गरेको छ । तराईमा कृषी, पहाड र हिमालमा पर्यटन र पशुपालन ऐच्छिक विषय राखिएको छ । देशको भौगोलिक बनावट अनुसारको शिक्षा, भूगोल अनुसारको शिक्षा के… कुरा बुझ्यौ नी हैन ? त्यसै हुन्छ । त्रिविका सम्वन्धित विभागका प्राध्यापकहरु मात्रै प्रधानमन्त्रीको सल्लाहाकार हुन्छन । कर्मचारी, शिक्षक र विद्यार्थीहरु देशको मात्रै हुने, राजनीति गर्नै नपाईने, कुरो खत्तम, सक्यो (सक्कियो नि । ठिक छ नि हैन ? प्रधानमन्त्रीको तलब र सेवा सुविधा त्रिविको प्राध्यापकको भन्दा बढी हुन नपाउने । कानुनमै व्यवस्था गर्देको छ त अनि…। देश त मास्टरले चलाएका छन हो भाई… मास्टरले, हामीले होईन । अनि पो यत्तिको भएको छ । हा हा हा… होईन । हो लु (लो) लेख कुरो बुझ्यौ नी होईन ।

पैसा कति चाहिन्छ लैजाने, देश भरका मठमन्दिर सफा चट्ट र आकर्षक हुनुपर्छ नत्र, मलाई सराप लाग्छ काली माँ को भन्दाको छु, सबैलाई । मठमन्दिर फोहोर मैला भए, मठाधिषको जागिर चट हुन्छ भन्ने नियम वसालेपछी, इन्डियाबाट, (हवाईमार्ग हुदै) मात्रै वार्षिक २४ लाख बढी पर्यटक आएछ गतवर्ष, जमिनमार्गबाट (स्थलमार्गबाट) त कत्ति हो कत्ति हिसाबै छैन । यसवर्ष पर्यटक १२० मिलियन पुर्याउने लक्ष्य छ । गत वर्ष ९८ लाख पर्यटक भित्रिएका थिए हैन । तराईमा रेल, पहाडमा रोड र हिमालमा केवलकार, कुरा गर्छ । यो हो नि विकास । कुरा बुझ्यौ नी हैन ? लु लेख अब ?

देशका दुई ठुला जलाशययुक्त आयोजना वुढी गण्डकी र कर्णाली चिसापानीले उत्पादन दिने करिव २२८०० मेगावाटले देशको सम्पुर्ण आवश्यकता धान्ने हुनाले बांकी आयोजनाका विद्युतहरू उत्पादन गृहबाट सिधै पैठारी गर्ने गरेका छौ । हाम्रो उत्पादनको ३० प्रतिशत भारतले, ३५ प्रतिशत चिनले र बाकी बंगलादेश लगायतले लाने गरेका छन । आफुले उत्पादन गरेको भन्दा हाम्रो बिजुली किन्न सस्तो पर्ने हुनाले चिनले बिगत केहि वर्षदेखि नेपालको बिजुली किन्ने गरेको छ । थाहा छ होला नी तिमीलाई, कि कसो लु लेख अब । बिजुली बेचे पनि पैसा, जडीबुटी वेचेपनि पैसा, अन्नबेचेपनि पैसा, मासु बेचेपनि पैसा‘ हा हा हा …… कि कसो । अहिले त म मात्रै होईन देश नै पुरै हाँसेको छ हो, हा हा हा… कि कसो भाई ठिक छ नि हैन ।

हेर, अहिले विश्वमा नेपाल पहिलो राजतन्त्रात्मक मुलुक हो, जसलाई अमेरिका प्रवेश फ्रि छ, तै पनि मान्छे जानै मन गर्दैन । हुन त अमेरिका पनि पहिलाको जस्तो अमेरिका कहाँ छ र? जे होस न कोही पनि नेपाली जान मन गर्दैन । यसो घुम्न डुल्न अलिअलि जान्छन । लु हो भाई धेरै नलेखौ होला । अलिअलि पछिलाई पनि राख्नुपर्छ के, हा हा हा… कि कसो भाई ठिक छ नि हैन ।

म त मस्त निद्रामा रहेछु । सधै सबेरै उठ्ने म, आज ढिला सम्म सुतेको देखेर, छोराहरु मज्जाले हाँस्दै रहेछन । सपना दुर्गा प्रसाई हाँस्दै थिए, यता छोराहरु । ओहो आज पुस ७ गते । प्रसाई पक्ष र सरकारको वार्ता चलेको पनि आज पाँचौ दिन भै सकेछ । देशको चिन्ता मनमा भएर होला सपना निक्कै राम्रो देखिएछ । जे होस, जो आए पनि अबको दश पन्ध्र वर्षमा देशले विकास चुम्नै पर्छ, देश समृद्ध बन्नै पर्छ भन्दै, भगवान पशुपतिनाथलाई सम्झदै फुत्त नुहाउन हिँडे, पुसको जाडोमा…. । जय पशुपतिनाथ ।

 

 

                  लेखक ईश्वर अर्याल त्रिवि भूगोल केन्द्रिय बिभागमा पिएचडी अध्ययनरत हुनुहुन्छ ।