नौ महिनामा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि
वि.सं.२०८३ वैशाख २८ सोमवार १७:४६
shares

काठमाडौं, २८ वैशाख । आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको छ।
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १०.२ प्रतिशतले मात्र वृद्धि भएको थियो।
२०८२ चैत महिनामा मात्र रेमिटेन्स आप्रवाह २०९ अर्ब ७५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १३९ अर्ब ५४ करोडभन्दा बढी हो।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ७.५ प्रतिशत रहेको थियो।
त्यसैगरी, खुद द्वितीय आय (नेट ट्रान्सफर) पनि वृद्धि भई १८२० अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो १३०३ अर्ब १२ करोड रहेको थियो।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने केही घटेको छ। समीक्षा अवधिमा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ९३ हजार २५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।















