निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष
वि.सं.२०७९ साउन १३ शुक्रवार १४:४२
shares

काठमाडौं, १३ साउन । निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष समितिबाट सफाइ पाएका छन् । बजेट निर्माण अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको नीतिमा चलखेल गरेको विषयमा अनुसन्धान गर्न गठित समितिले शर्मालाई सफाइ दिएको हो ।
जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गते राती अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो । अर्थमन्त्रालयले सूचना हक अन्तर्गत सीसीटिभी हेर्न माग भएको निवेदनमा डिलिट भएको पत्र दिएको थियो । त्यसपछि भने प्रतिनिधिसभामा भएको दवावको कारण अर्थमन्त्री शर्माले असार २३ गते पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्य छानबिन समिति गठन गरेको थियो ।
समितिको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन लेखनको काम सम्पन्न गरिसकेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई शुक्रबार प्रतिवेदन पेस गर्नेछ । १७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथि लागेको आरोप पुष्टि प्रमाण भेटाउन सकेन ।
समितिले शर्मालाई सफाइ दिने गरेर प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको छ । समितिमा एमालेका सदस्यले भने फरक मत राखेका छन् । समितिले एमालेको फरक मत सहितको प्रतिवेदन सभामुखलाई बुझाउन लागेको हो । संसदीय समितिले जनार्दन शर्मा सहित बजेटमा निर्माणमा संलग्न भएका अर्थसचिव, राजस्व सचिव सहित उच्च अधिकारीसँग बयान समेत लिएको थियो । जसमा सबैले अनाधिकृत व्यक्ति संलग्न भएको कुरा अस्वीकार गरेका थिए ।
यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । १७ दिनको अध्ययनको क्रममा शर्मा विरुद्ध प्रमाण नभेटिएपछि उनले सफाइ पाएको समितिका एक सदस्यले बताए ।

















