प्रतिबन्ध लगाउँदा पनि घटेन आयात
वि.सं.२०७९ साउन १३ शुक्रवार १४:२४
shares

काठमाडौं, १३ साउन । नेपाल आयातमुखी अर्थतन्त्र भएको देश हो । नेपालले धेरै भन्दा धेरै वस्तुको उपभोग विदेशबाट आयात गरेर गर्नु पर्ने हुन्छ । अवस्था यतिसम्मको छ कि नेपाल कृषि प्रधान मुलुक हो तर चामल दाल लगायत खाद्य वस्तु समेत आयात गर्छ । त्यतिमात्रै होइन जलस्रोतको दोस्रो धनी देश नेपाल विदेशबाट पानी समेत आयत गर्छ ।
नेपाल सरकारले पछिल्लो समय विदेशी मुद्राको सञ्चिती घटेको भन्दै गत आर्थिक वर्षको अन्तिम तीन महिना विभिन्न वस्तुको आयातमा रोक लगाउने निर्णय गर्यो । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा वस्तुको आयात घट्न त सकेन अझ भन्दा केही वस्तुको आयात भने पहिलोको तुलनामा बढेको देखियो ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको आयातमा वृद्धि भएको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएका १० वस्तुको आयातमै गत आर्थिक वर्ष ०७८/७९ मा ६८ अर्ब २१ करोड ३९ लाख रुपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ । जुन अघिल्लो आव ०७७/७८ को तुलनामा ६ अर्ब ९८ करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यस्ता वस्तुको आयातमा ६१ अर्ब २३ करोड २९ लाख रुपैयाँ खर्च भएको थियो ।
यसरी हेर्दा प्रतिबन्ध लगाउँदा पनि नेपालमा सामान आउने क्रम भने नरोकिएको प्रष्ट हुन्छ । नेपाल सरकारले गत आर्थिक वर्षको १३ वैशाखदेखि असार मसान्तसम्म विभिन्न वस्तुको आयातमा रोक लगाएको थियो । त्यो प्रतिबन्धलाई सरकारले अहिले भदौ १४ गतेसम्म लम्ब्याएको छ । सरकारले प्रतिबन्ध लगाएका वस्तुहरुमा मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), जिप, कार र भ्यान, कुरकुरे, कुरमुरे, ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजन र २५० सीसीभन्दा माथिका मोटरसाईकल तथा सबै प्रकारका खेलौना र तास रहेका छन् ।
त्यस्तै ओद्योगिक क्षेत्रमा कच्चा पदार्थका रुपमा प्रयोग हुने बाहेक अन्य प्रयोजनका लागि प्रयोग हुने हीरा आयातमा समेत प्रतिबन्ध लगाएको थियो । त्यस्तै सरकारले ६ सय डलरभन्दा माथिका मोबाइल आयातमा समेत प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय थप भएको समयमा सरकारले ३०० डलरभन्दा माथिका मोबाइलमा प्रतिबन्ध लगाएको छ । त्यस्तै अहिले १५० सीसीभन्दा माथिका मोटरसाइक आयातमा समेत रोक लगाइएको छ ।
अघिल्लो र गत आर्थिक वर्षमा प्रतिबन्धित वस्तुको वार्षिक आयातको तथ्यांक हेर्दा खासै फरक छैन । अघिल्लो आर्थिक वर्षमा ६७ करोड ७९ लाखको कुरकुरे, लेज, चिजबललगायत वस्तु आयात भएको थियो भने गत आर्थिक वर्षमा यस्तो वस्तु आयातमा मात्रै ६६ करोड ७८ लाख रुपैयाँ विदेशिएको छ । गत आर्थिक वर्ष सरकारले रोक लगाएको तयारी मदिरा प्रतिबन्ध लगाएको समयमा अघिल्लो वर्षकोभन्दा बढी आयात भएको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९३ करोड ८४ लाख बराबरको मदिरा आयात भएकोमा गत आर्थिक वर्षमा यस्तो आयात १ अर्ब ९५ करोड २६ लाखको आयात भएको विभागको तथ्यांकले देखाएको छ । यो अघिल्लो आर्थिक वर्षकोभन्दा १ करोड ४१ लाख रुपैयाँ बढी हो ।
चुरोट तथा सुर्ती (कच्चा पदार्थबाहेक) को आयात अघिल्लो आर्थिक वर्षकोभन्दा गत आर्थिक वर्षमा ३ करोड ७ लाख रुपैयाँले बढेको छ । अघिलो आर्थिक वर्षमा ६ करोड ६९ लाख आयात भएको थियो भने गत आर्थिक वर्षमा ८ करोड ७८ लाखको चुरोट तथा सुर्ती जन्य पदार्थ आयात भएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा आयातमा प्रतिबन्ध लगाएको भए पनि हीराको आयात समेत बढेको छ ।
प्रतिबन्ध लगाएको गत आर्थिक वर्षमा २ अर्ब १५ करोड ६१ लाख रुपैयाँ बराबरको हीरा आयात भएका देखिएको छ । अघिल्लो वर्ष हीरा आयातका लागि १ अर्ब २१ करोड २५ लाख रुपैयाँ विदेशिएको थियो । एक आर्थिक वर्षको अवधिमा ९४ करोड ३५ लाख रुपैयाँ बढीको हीरा आयात भएको देखिएको छ ।
आर्थिक वर्षको अन्तिम समय प्रतिबन्ध लगाएका कारण समग्र आर्थिक वर्षको तथ्यांकमा खासै असर नपरेको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । ‘सरकारले १३ वैशाखदेखि प्रतिबन्ध लगाएको हो । तर १२ गतेसम्म एलसी खोलिएका वस्तुहरु भने प्रतिबन्धको विषयमा पनि आयात भएकाले आयातमा खुल्लेख गिरावट नभएको हो,’ उनले भने । मोबाइल गाडि लगायतका वस्तु आयात गर्नका लागि समय लाग्ने भएकाले पनि आयातमा धेरै फरक नपरेको उनको भनाइ छ । अहिले सकरकारले यो समय थप गरेकाले त्यसको परिणाममा केही सुधार हुने उनको अपेक्षा छ ।
प्रतिबन्ध लगाइएका मध्ये मोबाइल सेटको आयात पनि बढेको छ । गत आर्थिक वर्षमा परिणामका हिसाबले मोबाइलको आयात कम भएको भए पनि मोबाइल आयातमा नेपालबाट विदेश जाने रकममा भने वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ९० करोड ४५ लाखको मोबाइल आयात भएको थियो भने गत वर्ष ४० अर्ब ८९ करोड ३६ लाखको मोबाइल आयात भएको छ । परिणाममा भने गत वर्ष अघिल्लो वर्षको सोही अवधिकोभन्दा १२ लाख ६७ हजार २७८ पिस कम मोबाइल आयात भएको देखिएको छ ।
त्यस्तै सरकारले ३२ इन्चभन्दा माथिको रंगीन टीभीको आयातमा समेत रोक लगाउको थियो । यस्ता टीभीको आयातमा गत आर्थिक वर्षमा ३ अर्ब ३१ करोड ७ लाख रुपैयाँ विदेश गएको विभागको तथ्यांकले देखाएको छ । जबकी अघिल्लो वर्ष टीभी आयातमा २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ खर्च भएको थियो ।
प्रतिबन्धित जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) को आयातसमेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा १५ अर्ब २८ करोड ११ लाख रुपैयाँको १५ हजार ५० वटा यस्ता सवारी आयात गरिएको थियो । तर गत आर्थिक वर्षमा भने १६ अर्ब ८७ करोड ५० लाख ४५ हजारको १५ हजार ६० वटा यस्ता सवारी याता भएको विभागको तथ्यांकले देखाएको छ । यस्ता सवारी साधन एक वर्षको अवधिमा १ अर्ब ५९ करोड बढीका १० वटा बढी सवारी खरिद भएका छन् ।
अहिले सरकारले १५० सीसीका मोटरसाइलमा प्रतिबन्ध लगाएको छ । तर आर्थिक वर्षको अन्तिम तीन महिनामा भने सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । एक वर्षको तथ्यांक हेर्दा मोटरसाइकलको आयातमा भने केही कमी आएको देखिएको छ । गत आर्थिक वर्षमा २५० सीसीभन्दा बढी क्षमताका मोटरसाईल आयातका लागि १ अर्ब २१ करोड बढी रकम विदेशिएको देखिन्छ । यस्तो प्रयोजनका लागि अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३६ करोड बढी रहेको थियो ।
सरकारले सबै प्रकारका खेलौनामा समेत प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएको गत आर्थिक वर्षमा खेलौनाको आयातका लागि विदेशिने रकम केही बढेको देखिएको छ । गत आर्थिक वर्षमा ७९ करोड ७० लाखको खेलौना आयात भएको छ भने अघिल्लो वर्ष ७८ करोड ६८ लाख मूल्यको खेलौना आयात भएको थियो ।
ऋायात गर्नका लागि छोटो प्रक्रिया रहेका वस्तुको आयातमा केही कमी आएको देखिए पनि प्रक्रिया नै लामो लाग्ने वस्तुको आयातमा भने कमी आउन नसकेको विभागका सूचना अधिकारी खड्काले बताए । ‘कुरमुरे, कुरकुरे जस्ता वस्तु आयातका लागि समय छोटो लाग्छ तर सवारी साधन, मोबाइल लगायतका वस्तुको आयात गर्नका लाग समेय लाग्ने भएकाले पनि परिणाम केही फरक हुन नसकेको हो,’ उनले भने ।

















