Dhulikhel Eco Banner new

‘साना तथा मझौला व्यवसायलाई पनि समेट्ने खालको नेतृत्व चाहियो’

4.89K
shares

काठमाडौं, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व साना व्यवसायीका समस्या समाधान गर्ने किसिमको आउनु पर्ने उद्योग वाणिज्य संघका जिल्ला नगर अध्यक्षहरुले बताएका छन् । ठूला भन्दा पनि साना र मझौला व्यवसायलाई सम्बोधन गर्ने किसिमको नेतृत्व आउनु पर्ने उनीहरुले बताएका छन् ।

साना व्यवसायीलाई पनि समेट्ने र उनीहरुका समस्यालाई सम्बोधन गर्न सक्ने नेतृत्व आवश्यक रहेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण बहादुर मोक्तानले बताए । ‘माथी बसेर ठुला ठुला व्यवसायीलाई मात्र नहेरी जिल्ला नगरमा भएका साना साना व्यवसायीको आवश्यकताहरुलाई पनि ख्याल गर्न सक्ने खालको नेतृत्व आयो भने राम्रो हुन्छ,’ उनले भने । ठूला उद्योग धन्दा गर्ने व्यवसायीले हाम्रो एसोसिएट सम्हालिरहेका छन् जसका कारण साना र जिल्ला नगरका व्यवसायीका समस्याका विषय कसैले पनि नउठाएको उनले गुनासो गरे ।

हामी साना उद्योग चलाउनेहरुले त प्याकेजिङ मात्र गर्ने हो कच्चा पदार्थहरुको संकलन गर्ने भन्दा पनि बाहिरी देशबाट कच्चा पदार्थ मगाएर काम गर्ने प्रविृतिले गर्दा हाम्रो समग्र देशको जिडिपी समेत बढ्न नसकेको उनले बताए । हाम्रो ग्रामीण क्षेत्रमा भएका साना तथा मझौला उद्योगहरु वा यही देशमा उत्पादन हुने कच्चा पदार्थबाट सञ्चालन गर्न नसक्दा पनि यस्तो स्थिति आएको उनले बताए ।

त्यस्तै उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र कुमार साहले सबै क्षेत्रलाई समेट्न सक्ने नेतृत्वका आवश्यकता रहेको बताएका छन् । ठूला उद्योगिलाई मात्रै नभएर जिल्ला नगर जस्ता सानो उद्योग गर्नेहरुलाई समेत महासंघले समेट्नु पर्ने उनको भनाइ थियो । नेपाल कृषिप्रधान देश भएकाले कृषिजन्य उद्योगलाई प्राथमिकतामा राख्ने सक्ने नेतृत्वको आवश्यकता रहेको उनले बताए । ‘बैंकको ब्याजदर निकै महंगो भएको छ । जसले गर्दा व्यवसाय गर्नका लागि निकै समस्या भइरहेको छ, यसलाई पनि सम्वोधन गर्न सक्ने नेतृत्व हामीले खोजेका हौँ,’ उनले भने ।

त्यस्तै उदोग वाणिज्य संघ पाँचथर अध्यक्ष नवराज घिमिरे आर्थिक क्षेत्रलाई सुदृढ गर्न सक्ने र राजनीति दलहरुसँग समन्वय गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । नेतृत्व गर्न जाने व्यक्तिले व्यक्तिग स्वार्थभन्दा पनि समग्र व्यवसायीका समस्यालाई केन्द्रमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ । व्यवसायीको हितलाई पहिलो प्राथमिकता दिएर काम गर्ने व्यक्तिलाई नेतृत्वमा पु¥याउन सकिएमा व्यवसायीका लागि राम्रो हुने उनले बताए ।

त्यस्तै उद्योग वाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरुले व्यवसायीहरु समेत रक्सी र मासुमा बिक्री हुने गरेको आरोप लगाएका छन् । व्यवसायीका समस्या समाधानका लागि लागेकाभन्दा पनि आर्थिक सहयोग गर्ने तथा मासु, भात तथा रक्सी खुवाउनेलाई नै व्यवसायीले पनि भोट हाल्ने गरेको उनको आरोप छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाले सरकारलाई नै आर्थिक भिजन दिनु पर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । तल्लो तहका व्यवसायीलाई समेत समेटेर काम गर्न सक्ने नेतृत्व खाँचो रहेको उनले बताए । सरकारमा रहेकाहरुको चाकडी र आफ्नो दुनो सोझ्याउनेहरुलाई यो पटकको चुनावबाट अगाडि आउन दिन नहुने उनको भनाइ छ ।