‘सबैको प्रयासले अर्थतन्त्र सही दिशामा आउन सक्छ’
वि.सं.२०७९ माघ १९ बिहीवार ११:००
shares

काठमाडौं, १९ माघ । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालले आयोगले सरकारलाई राम्रो गर्नका लागि सुझाब दिने काम गर्ने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले आयोजना गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य फुयालले यस्तो बताएका हुन् ।
विगतका वर्षको विश्लेषण गरेर आगामी वर्षका लागि नीति तथा कार्यक्रमका लागि गर्नु पर्ने कामका विषयमा आयोगले सुझाव दिने उनले बताए । विगतका कार्यबाट पाठ सिक्दै आगामी दिनमा त्यस्तो नगर्ने गरि काम गर्नका लागि पनि आफूहरुले सुझाव दिने गरेको उनले बताए ।
त्यस्तै सरकारका कार्यक्रमलाई हेरेर आवधिक योजना निर्माणका लागि पनि आयोगले काम गर्ने उनको भनाइ थियो । ‘नराम्रा पक्षलाई सुधार गरेर सकारात्मक कामलाई उत्प्रेरणा प्रदान गर्ने काम आयोगले गर्छ,’ उनले भने । यस अघि पनि अर्थतन्त्र अप्ठ्यारो अवस्थाबाट गुज्रेको भन्दै अहिलेको अर्थतन्त्र पनि सही दिशामा आउने उनको भनाइ थियो । सबैको प्रयासले अर्थतन्त्र लयमा फर्किने उनले बताए ।

















