Dhulikhel Eco Banner new

सुनको मूल्य आकाशिदा व्यापार ठप्प, व्यवसायी पलायन हुने अवस्थामा

6.8K
shares

काठमाडौं, ८ चैत । पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । पुस महिनादेखि निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य चैत लागिसक्दा पनि मूल्य लाखभन्दा माथि नै रहेको छ । जसको प्रभाव सुनको व्यापारमा परेको छ ।

पुस महिनामा १ लाखबाट उकालो लागेको सुनको मूल्यले माघ १९ गते त्यतिबेलको रेकर्ड १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार रुपमा १ लाखभन्दा माथि मूल्य हुँदा कारोबार ठप्प जस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए । ‘अहिले बढेको मूल्य र आर्थिक मन्दीका कारण कारोबार ठप्प जस्तै छ,’ उनले भने ।

पछिल्लो पटक आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत पाँच गते सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेर १ लाख १९ हजार कायम भएको थियो । जसको प्रभाव अहिले व्यापारमा प्रत्यक्ष रुपमा देखिएको व्यवसायीहरुको भनाइ छ । नेपाली बजारमा सिजनको समयमा दैनिक ४० किलोसम्मको सुनको माग हुने भए पनि सरकारले सुनको कोटा भने १० किलोमा झारेको छ । अहिले त्यो १० किलो सुन पनि धेरै भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । व्यापार ठप्प छ, अरुवेला दैनिक ३५–४० किलोसम्म सुनको माग हुने गरेको भए पनि अहिले भने व्यापार ठप्प रहेको छ,’ शाक्यले भने ।

अहिले सुनचाँदी व्यवसायीहरु पलायन हुने अवस्था देखिएको शाक्यको भनाइ छ । अहिले धर्याता राख्नु पर्ने अवस्था छ । ‘सुधार हुने आसामा बस्नेहरु टिक्ने र अन्य व्यवसायी पलायन हुने अवस्था देखिएको छ,’ उनले भने । व्यापार नहुने हो भने व्यवसायीहरु बाच्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

अरु बेला अफ सिजनमा पनि १० देखि १५ किलोग्राम सम्म सुनको खपत हुने भए पनि अहिले दैनिक ७ किलोको हाराहारीमा मात्रै सुनको खपत हुने गरेको व्यवसायीको भनाइ छ । खपत हुने सुन पनि नयाँ किन्ने भन्दा पनि पुरानोसँग नयाँ साट्ने मात्रै काम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मोहोन काजी शाक्यले बताए । अहिले व्यवसाय ठप्प छ । अबको केही दिनमा केही मात्रामा बढ्ने आस गरिएको उनको भनाइ छ ।

सुन आयातमा सरकारको नीति नै गलत रहेको उनको भनाइ छ । ‘सिजनमा पनि १० किलो र अफ सिजनमा पनि १० किलो मात्रै सुन उपलब्ध हुन्छ । यो नीतिमा परिवर्तन गरेर सिजनमा बढी र अफ सिजनमा कम कोटा निर्धारण गर्नु पर्छ,’ उनले भने ।

अहिले अफ सिजन पनि भएको र सुनको मूल्यमा पनि निरन्तरको वृद्धिले गर्दा व्यापार ठप्प रहेको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले बताइन् । पहिलेको तुलनामा अहिले आम मानिसहरु सुनभन्दा हिरातर्फ आकर्षित भएको उनको भनाइ छ । अहिलेको अवस्थामा व्यवसायीहरु निकै निराश रहेको उनले बताइन् ।