Dhulikhel Eco Banner new

तुफान आएको अवस्थामा जहाजको कप्तानी लिन अघि बढेको हुँ : उमेशलाल श्रेष्ठ

4.08K
shares

काठमाडौं, १२ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले महासंघ नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्नुपर्ने बताएका छन् । नेपाल औषधि उत्पादक संघले आयोजना गरेका छलफल कार्यक्रममा श्रेष्ठले महासंघमा ठूला व्यापारिहरु मात्रै पुगेकाले समग्र उद्योगीको समस्या समाधान हुन नसकेको बताएका हुन् ।

महासंघको नेतृत्वमा पुग्नेहरु आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेका कारण व्यवसायीहरु मर्कामा परेको उनको भनाइ थियो । ‘अहिले जिल्ला नगर र बस्तुगत संघहरुका समस्याहरु राज्यले सुन्न छाड्यो, सबै व्यवसायीको समस्या सुनेर सरकार समक्ष पु¥याएर समाधान गर्नकै लागि म जस्तो भुई मान्छेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर महासंघको नेतृत्व लिन अघि बढेको छु,’ उनले भने ।

यसैगरी अहिले उद्योगी व्यवसायीका साथै देशको अर्थतन्त्र नै समस्यामा परेको भन्दै यस्तो अवस्थामा महासंघलाई आफुजस्तो निडर नेतृत्वको खाँचो रहेको उनले बताए । ‘म ३ दशकदेखि महासंघमा आवद्ध छु भने यसअघि बस्तुगततर्फको उपाध्यक्षमा चुनाव हारे त्यसपछि महासंघमा नआउन पनि खोजेको थिएँ । तर अहिलेको विषय परिस्थितिमा समस्या समाधान गर्नकै निमित्त साथीहरुको सल्लाह र सुझावमा वरिष्ठ उम्मेदवारी दिएर नेतृत्व लिन अघि बढेको छु,’ उनले भने ।

नेपालको अर्थतन्त्र उकास्नको लागि आफु एक सक्षम व्यक्ति भएको र सोही अनुरुप तुफान आएको अवस्थामा जहाजको कप्तानी लिन अघि बढेको उनको भनाइ छ । यसैगरी राजनीतिक पार्टीहरुल सुखी र समृद्ध नेपालको परिकल्पना गरेपनि व्यवहारमा भने फरक रहेको उनको भनाइ छ । ‘अहिले सरकार र नेताहरू राष्ट्रिय पुँजी निर्माण गर्नु पर्याे भनिरहेका छन तर कसरी गर्ने भन्ने कुनै ठोस योजना छैन,’ उनले भने, ‘सरकारले राजश्व उठाउने नाममा आयातलाई प्राथमिकता दिईरहेको छ तर देशभित्र उद्योगीकरण नगरेसम्म राष्ट्रिय पुँजी निर्माण हुन सक्दैन ।’

यसैगरी सरकारले कागजको आधारमा कृषि कर्जा दिँदा अहिले समस्या उत्पन्न भएको समेत उनले बताए । ‘सरकारले कृषि उत्पादनमा अनुदान दिन पर्दथ्यो तर कागजलाई अनुदान दियो,’ उनले भने, ‘राष्ट्र बैंकको तथ्यांक अनुसार कृषिमा ७ खर्ब रुपैयाँ कर्जा प्रबाह भैसकेको छ तर त्यसको उत्पादकत्व खै ?’