Dhulikhel Eco Banner new

‘बैंकमा पैसा त थुप्रियो, तर ऋण लिएर व्यवसाय गर्ने अवस्था छैन’

8.19K
shares

काठमाडौं, १० असार । लगानी योग्य रकम (तरलता) अभावको ठूलो पिर खेपेका बैंकहरु यतिबेला भने कम्फरटेबल जोनमा छन् । बैंकहरुले सहजै लगानी नगर्दा बैंकमा तरलता समस्या समाधान भएको छ । बैंकमा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले गत बिहीबार १० अर्ब र आइतबार २० अर्ब रुपैयाँ ‘रिभर्स रिपो’मार्फत तरलता खिचेको छ ।

बैंकमा रकम पर्याप्त हुँदा पनि व्यवसायीहरु भने उत्साहित छैनन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष कृष्ण अधिकारी यतिबेला बैंकमा तरलता पर्याप्त हुनुको अर्थ खासै नरहेको बताउछन् ।

परिसंघका उपाध्यक्ष अधिकारीको बुझाइमा अहिले मूलतः २ वटा विषय छन् । पहिलो– बैंकमा रकम जति भएपनि व्यवसायीहरु ऋण लिएर व्यवसाय विस्तार गर्न सक्ने अवस्था छैनन् । दोस्रो– बाहिर तरलता धेरै भनेर जति प्रचार भएको छ, त्यसको वास्तविकता अर्कै छ ।

‘अहिलेको अवस्था भनेको उत्साहित भइहाल्ने अवस्था होइन, ऋण लिएर व्यवसाय बढाइहाल्नु हुँदैन’ उनले भने, ‘तरलता बढ्यो भनेर नयाँ निक्षेप थपिएको होइन, पहिले जुन क्राइसिस थियो त्यो केही हदसम्म कम भएको मात्रै हो ।’

हाल बैंकहरुले कर्जा प्रवाह नगरेका कारणमात्रै तलरता बढेको देखिएको उनको बुझाइ छ । आर्थिक मन्दी, अर्थतन्त्र चलायमान नभएको र बजारको क्रयशक्ति नभएको कारण नयाँ उद्योग सिर्जना गर्न कसैले साहस नगरेको उनको भनाइ छ । बजारको क्रयशक्ति नभएको हुँदा कुनैपनि उद्योग, व्यवसाय सञ्चालन गर्न नसकिने उनले बताए ।

घर जग्गा किनबेच र शेयर बजारमा मात्रै सरकार सहित निजि क्षेत्र पनि यसमै रमाइरहेको अन्य क्षेत्र समस्यामा परेको र पुँजीगत खर्च बढाउँनुपर्ने मा जोड दिनुपर्ने उनको भनाइ छ । ‘अहिले उद्योगले सिर्जना गरेर बजारमा पठाएर बजारबाट राम्रो प्रतिफल ल्याउन सक्ने, बजार चलायमान हुन सक्ने अवस्था नै छैन’ उपाध्यक्ष अधिकारीले भने, ‘पुँजीगत खर्च वृद्धि भएर ६०/७० प्रतिशत पुगेको भए बजार चलायमान हुन्थ्यो, व्यवसायीले कर्जा माग गर्थे बैंकको तरलता सदुपयोग हुन्थ्यो ।’

हाल सरकार पर्यटन क्षेत्र सुधारको लागि सकारात्मक भएर लागि परेको देखिएको छ । अहिले पर्यटन क्षेत्रमा धेरै हल्ला गरेको भन्दै १/२ दिन मात्रै होटलमा पर्यटक भरिएर नहुने भन्दै निरन्तर बगिरहने नदी जस्तै हुनुपर्नेमा जोड दिनुपर्ने बताए ।