Dhulikhel Eco Banner new

लघुवित्त बैंकर्स संघको नेतृत्वमा बसन्त लम्सालको कमब्याक !

7.53K
shares

काठमाडौं, १२ असार । लघुवित्त बैंकर्स संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमार्फत संघले लघुवित्त क्षेत्र नै असुरक्षित भएको भन्दै यहीँ अवस्था रहे बन्द गर्नु पर्ने अवस्था आउन सक्ने जानकारी दिएको छ । पछिल्लो समय लघुवित्त विरुद्ध भइरहेको आन्दोलनले एउटा संशय पैदा भएको छ । अझ सरकार र नेपाल राष्ट्र बैंकले समेत गर्नु पर्ने सहजिकरण समेत नगरेको लघुवित्तकर्मीहरुको गुनासो छ । लघुवित्तहरुको यि समस्याहरुको समाधानका लागि संघको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

लघुवित्तका सीईओहरु सदस्य रहने संघ यतिबेला कार्यबाहक अध्यक्षको नेतृत्वमा छ । संघमा तत्कालिन अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तको सीईओ पदबाट अवकास पाएपछि कार्यबाहकको नेतृत्वमा संघ चलिरहेको छ । अहिले कार्यबाहक अध्यक्षको रुपमा धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा छन् । कार्यबाहक अध्यक्ष बोहरा पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाबाट आगामी १९ गते अवकास लिदैछन् । सीईओ पद छाडे पनि यता संघको भूमिकामा समेत रहन नपाइने व्यवस्थाका कारण आगामी २० गते पछि लघुवित्त बैंकर्स नेतृत्व विहीन हुने अवस्थामा पुगेको हो ।

अध्यक्ष प्रकाशराज शर्माले अवकास पाएपछि उपाध्यक्ष रहेका मिनबहादुर बोहरा स्वतः कार्यबाहक अध्यक्ष भए । तर, अब भने अर्को उपाध्यक्ष समेत छैनन् । बोहराले अवकास पाएपछि वरियताका आधारमा महासचिव सबैभन्दा सिनियर पद हो । तर, विधानमा महासचिवले कार्यबाहक अध्यक्षको रुपमा नेतृत्व लिन पाउने व्यवस्था छैन ।

यद्यपि, २० गते पछाडि कम्युनिष्ट पार्टीहरुमा महासचिव प्रमुख भए जस्तै लघुवित्त बैंकर्स संघमा पनि महासचिव रामबहादुर यादवले प्रमुखको रुपमा नेतृत्व लिनेछन् । त्यसपछि ६ महिना भित्रमा साधारण सभा गर्ने प्रारम्भिक सहमति जुटेको छ । साधारणसभा पछि अध्यक्ष बन्नेमा यादव प्रमुख दाबेदार मध्येका हुन् । यादवले २ कार्यकाल महासचिव र अबको केही समय कार्यबाहक अध्यक्षको रुपमा समेत जिम्बेवारी पाउदैछन् ।

यद्यपि, धेरै जसो संघका अध्यक्षहरु पूर्व अध्यक्ष बसन्तराज लम्साललाई अध्यक्ष बनाउनु पर्ने बताउन थालेका छन् । विशेष साधारणसभा गरेर लम्साललाई संघको नेतृत्व दिने तयारी भइरहेको संघका एक नेताले केटिएम भ्वाइसलाई बताए ।

‘पहिले सफल नेतृत्व समेत गरिसकेको भएकाले लम्साल जीलाई ल्याउनु धेरै राम्रो हुन्छ, फेरि लम्साललाई ल्याउदा रामबहादुर जी लगायतले पनि समर्थन जनाउनु हुन्छ’ ति नेता भन्छन्, ‘चुनाव गर्ने वा अर्को नयाँ नेतृत्व ल्याउनेतिर गयौं भने भाडभैलो हुन्छ, अहिले संकटको बेलामा सर्वसम्म लम्साल जीलाई नेतृत्व दिएर काम गर्ने हाम्रो योजना छ ।’ सोमबार संघको पत्रकार सम्मेलनमा देखिएको लम्सालको भूमिकाले पनि अबको नेतृत्वमा उनी नै हो भन्ने स्पष्ट संकेत गरेको छ ।