Dhulikhel Eco Banner new

चुनाव प्रभावित पार्ने बजेट आयो : नेकपा एमाले

4.38K
shares

काठमाडौं, १५ जेठ । नेकपा एमालेले नयाँ आर्थिक वर्षको बजेट चुनाव प्रभावित पार्ने किसिमको भएको बताएको छ । बजेट बक्तव्य पछि प्रतिक्रिया दिदै एमाले नेताहरुले बजेट कनिका छरेजस्तो रहेको र बजेट प्रभावित पार्ने गरी आएको टिप्पणी गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावी सरकारले प्राथमिकता नबुझेरै बजेट ल्याएको टिप्पणी गरेका छन् । उनले भने यो सरकारको म्याद पाँच महिनाको भए पनि उसले ‘स्वर्ग पु¥याउने’ कुरा बजेटमा ल्याएको बताए । ‘पाँच महिना समय बाँकी भएको सरकारले दीर्घकालीन महत्वका योजनाको कुरा गरेको छ । स्वर्ग बनाइदिन्छु भनेर हावादारी कुरा गरेको छ’, पौडेले भने । यो बजेट कार्यान्वयनका लागि निकै गाह्रो हुने उनको भनाई छ ।

‘मुलुक आर्थिक संकटमा छ । मुलुकलाई आर्थिक लयमा फर्काउने कुरा छोडेर कर्णाली नदी र कोशी नदी जोड्ने हावादारी कुरा गरेर अर्थतन्त्र चल्छ,’ पौडेलले भने । वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, ८ प्रतिशत आर्थिक वृद्धिदर जस्ता हावादारी कुरा बजेटमा राखिएको उनले बताए ।

एमालेका अर्का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले आउँदो चुनावमा भोट तान्ने लक्ष्यका साथ मात्रै आएको प्रतिक्रिया दिएका छन् । पाण्डेले चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का नराखेको बजेट ल्याइएको उनले बताए । ‘नयाँ सरकार बन्छ भन्ने हेक्का यो बजेटले राखेको छैन । भोट मात्र कसरी तान्ने भन्ने मनसाय मात्र राखेको छ’ उनले भने ।

उनले किसानलाई पेन्सन दिने कुरा पपुलर हुने गरी राखिएको भन्दै यस्ता कार्यक्रमले अर्थतन्त्रलाई थप समस्यामा पु¥याउने बताए । निजामती कर्मचारी लगायतकै पेन्सनमा समस्या परिरहेकोबेला झन्डै ३७ लाख परिवारलाई पेन्सन दिने कुरा कति कार्यान्वयन गर्ने सकिने खालको हो भन्दै उनले प्रश्न समेत गरे । यसले राज्यलाई थप व्ययभार थोपर्ने मात्रै उनको भनाई छ । उनले बजेट र नीत कार्यक्रमबीच सन्तुलन नभएको पनि आरोप लगाए ।

एमाले नेता डा. भिम रावलले पनि नयाँ बजेट निर्वाचनलाई प्रभावित गर्ने गरी मात्रै आएको बताएका छन् । यो बजेटले कुनै पनि नयाँ कार्यक्रम ल्याएको छैन । खाली चुनावलाई प्रभावित गर्ने गरी मात्रै आएको रावलले भने । त्यस्तै एमाले नेता खगराज अधिकारीले सरकारले चुनाव लक्षित गरेर कनिका छर्ने किसिमको बजेट ल्याएको टिप्पणी गरे । यो बजेटमा कुनै पनि किसिमले आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने किसिमको कार्यक्रम नै नरहेको उनको भनाई छ ।

‘यो बजेटमा कुनै विश्वसनियता छैन्, कार्यान्वयन हुने गरी ल्याइएको होइन । नयाँ कुरा पनि केही छैन । विकास परियोजनामा पनि केही भएन्,’ अधिकारीले भने । अघिल्लो पटकका सरकारले ल्याएका कार्यक्रममा कटौती गर्ने कार्य भएको भन्दै यो बजेटबाट आसा गर्ने कुनै पनि ठाउँ नरहेको अधिकारीको भनाई छ ।