Dhulikhel Eco Banner new

नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह

3.85K
shares

काठमाडौं, १२ असार । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् ।

अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताएको हो ।

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएको महासङ्घले जनाएको छ । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरेका छन् ।

ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रहरुमा लगानीको ठूलो सम्भावना रहेको बताएका छन् ।

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने हुँदा जलविद्युत् तथा नवीकरणीय ऊर्जामा लगानीका अवसर रहेको बताएका छन् ।

त्यसैगरी उनले अर्को छिमेकी मुलुक बङ्गलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरेका छन् । उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताएका छन् ।

नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासङ्घसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गरेका छन् ।

त्यसैगरी, महासङ्घको पहलमा दुई पक्षीय लगानी ९बिआइए० फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्बाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ, उनले भने ।

मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासङ्घले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताएका छन् ।

उहाँले महासङ्घ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीका साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए ।

महासङ्घका अनुसार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फन्डले थप लगानी गर्न तयार रहेको बताएका छन् ।

त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फन्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताएका छन्