Dhulikhel Eco Banner new

विदेशी मुद्राको सञ्चिति सवा २२ खर्ब माथि

2.77K
shares

काठमाडौं, ४ मंसिर । नेपालमा विदेशी मुद्राको सञ्चिति करिब साढे ९ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

चालु आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भएर चालु आवको असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति चालु आवको असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भएर १६ अर्ब ६० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति चालु आवको असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भएर १९ खर्ब ८८ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति चालु आवको असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा चालु आवकोअसोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भएर २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ। चालु आवको असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१।८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। चालु आवको असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्। चालु आवको असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।