समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन
वि.सं.२०७९ असोज १६ आइतवार १०:३७
shares

काठमाडौं, १६ असोज । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन रहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूची संशोधनको समय आज सकिँदैछ ।
दलहरूले यसअघि बुझाएको सूचीलाई संशोधन गर्नुपर्ने भएमा संशोधित सूची बुझाउन आयोगले आजसम्मको समय दिएको हो । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो ।
दललाई असोज १० गतेदेखि परिमार्जित सूची पेस गर्न भनिएको थियो । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीमा ६८ दलले भाग लिएका छन् ।
संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते अर्थात् भोलि बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने ठाउँमा सोही समूहले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ ।



















