मतपरिणाममा पछि परे एमाले र माओवादीका महासचिव
वि.सं.२०७९ मंसिर ७ बुधवार १६:४९
shares

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा चुनावको मतगणना जारी रहेको अवस्थामा नेकपमा एमाले र माओवादी केन्द्रका महासचिव पछि परेका छन् । निर्वाचनको मतगणना जारी रहेको अवस्थामा दुई पार्टीका महासचिव पछि परेका छन् ।
उनीहरुको जित्ने सम्भावना समेत न्युन देखिएको छ । उनीहरु पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धीभन्दा निकै पछि रहेका छन् । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेल र लमजुङमा माओवादी महासचिव देव गुरुङ पछि परेका हुन् ।
दाङमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायम छ । सुरुवाती चरणदेखि नै अग्रता लिएकी शर्माको १४ हजार १०७ मत प्राप्त गरेकी छिन् । एमाले महासचिव पोखरेलले १२ हजार २४३ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव गुरुङविरुद्ध एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अग्रता लिइरहेका छन् । पृथ्वीले २२ हजार ४३८ मत ल्याएर अग्रता कायम राख्दा देवले २२ हजार १३० मत ल्याएर पछ्याइरहेका छन् ।

















